Logo

ओली-नेपाल भेटवार्ता बिनानिश्कर्ष सम्पन्न, दुवै नेता आफ्नो अडानबाट टसमस भएनन्



काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको भेटवार्ता बिनानिश्कर्ष सम्पन्न भएको छ । काठमाडौंस्थित् होटेल म्यारियटमा भएको भेटवार्तामा दुवै नेताले आ–आफ्नो कायमै राखेका थिए ।

नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउनको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने अडान राखेका थिए । तर, अध्यक्ष ओलीले आफू अघि बढिसकेको भन्दै अब कुनैपनि हालतमा ब्याक नहुने अडान दोहोर्याएका थिए । अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ताबारे वरिष्ठ नेता झलनाथ खनालले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँग भने–‘आजको भेटवार्ता बिनानिश्कर्ष सम्पन्न भएको जानकारी छ ।’

नेता नेपालसँगको छलफलमा अध्यक्ष ओलीले यसअघि आफूले नेता नेपालसहित अरु नेतालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको निर्णयमा पूनर्विचार गर्ने जनाएका थिए । तर, त्यसको लागि भोलिको महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुनुपर्ने शर्त राखेका थिए ।

नेता नेपालले भने ओलीको यस्तो प्रस्तावलाई ठाडै अस्विकार गरिदिए । ओलीले नेता नेपालसँग भनेका थिए,‘तपाईहरु भोलिको बैठकमा आउनुभयो भने यसअघि मैले ६ महिनाको लागि भनेर गरेको निलम्बनको कारबाही फुकुवा गर्छु । तर, भोलिको बैठकमा आउनुहोस् ।’ तर, नेता नेपालले भने ओलीको प्रस्तावको ठाडै अस्विकार गरिदिए ।

फागुन २८ गतेको निर्णयबाट पनि आफू ब्याक नहुने ओलीको अडान थियो । तर, नेता नेपालले भने पार्टी एकताभन्दा अघिको अवस्था अर्थात् २०७५ जेठ २ गते फर्किनुपर्ने आफ्नो अडान आजपनि दोहोर्याएका थिए । पछिल्लो समय विभिन्न जिल्लामा र पार्टीका विभिन्न विभागमा ओलीले आफ्नो पक्षले गठन गरेका कमिटी पनि भंग नगर्ने अडान राखेका थिए । Photo/ Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot