Logo

मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित् गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ : मन्त्री महतो



काठमाडौं, १६ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा नेपालले हाँसिल गरेका उपलब्धिबारे विश्वस्तरीय पहिचान भएकोमा खुशी व्यक्त गरेका छन् ।

केन्याको नाइरोबीमा हिजो (मंगलबार) बाट सुरू भएको युनाईटेड नेशन्स इनभाईरोमेन्ट एसेम्बलीको उद्घाटन सत्रमा मन्तव्य राख्दै मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्ने युएन सिस्टम, डब्लुडब्लुएफलगायत दातृ संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

सो क्रममा मन्त्री महतोले आफूहरु सबैले मिलेर काम गर्दा संयुक्त राष्ट्रसंघको ‘पारिस्थितिक प्रणाली पुनर्स्थापनाका दशक’ कार्यक्रममा सफलता मिलेको उल्लेख गर्दै यस्तो सफलताले मानव–वन्यजन्तु द्वन्द्वमा चुनौतीहरू पनि खडा गरेको टिप्पणी गरे ।
यस्तै, उनले बासस्थानको पुनर्स्थापनाको परिणामस्वरूप नेपालले पछिल्ला दशकमा बाघ र गैँडाको संख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएको पनि जानकारी गराए ।

देशको विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्दै जलवायु परिवर्तनको सामना गर्दा मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित् गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर रहेको पनि मन्त्री महतोको भनाई थियो ।

सम्बोधनको अन्त्यमा मन्त्री महतोले UN World Restoration Flagship Award (Gala of Hope)
का सबै विजेताहरूलाई बधाई ज्ञापन गरेका थिए । यसको साथै, ‘तराई आर्क ल्यान्डस्केप’मा आफूहरुको दशकौं लामो प्रयासहरू स्वीकार गरेकोमा प्यानललाई धन्यवाद पनि ज्ञापन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्