Logo

माधव नेपालको यसरी बढ्यो शक्ति



काठमाडौं, १४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद वार पारको अवस्थामा पुगेको छ । दश दिनयता दुवै नेताको संवाद हुनसकेको छैन । दोस्रो तहका नेताहरु संवादको माहोल बनाउन सक्रिय भएपनि प्रचण्ड अब बालुवाटार नधाउने टुंगोमा पुगेको बुझिएको छ ।

ओली-प्रचण्ड वारपारको अवस्थामा, केन्द्र देखि स्थानीय तहसम्म टकराव बढ्यो

ओली र प्रचण्डको विवादले केन्द्रमा मात्र नभई प्रदेश र स्थानीय तहसम्म असर गरिसकेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता भयो । पर्सामा नेकपा कार्यकर्ताबीचको झडपमा मुकेश चौरसियाको मृत्यु भयो । विवाद र झडपसम्मको अवस्थाले दुर्घटनाको संकेतहरु गरेको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्तावसम्मको तयारी

यतिबेला नेकपाभित्र ओली हटाउन अविश्वासको प्रस्ताव सम्मको तयारी भएको छ । यसमा प्रचण्ड र माधवकुमार नेपालबीच सहमति बनेको विषय बाहिर आइसकेको छ । यी दुई नेता एकजुट भएमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म बहुमतको अवस्था छ । तर, संसदीय दलमा ओली या उनी इतर समूहमध्ये कसैको बहुमत रहे नरहेको स्पष्ट छैन । दशैंभर ओली पक्षधरले सांसदहरुको हस्ताक्षर संकलन गरेर तयारी गरेको विषय बाहिर आएको छ । उनी इतर समूहले पनि हस्ताक्षर सुरक्षित राखेको छ ।

नेकपाभित्र ओली र प्रचण्डबीच विवादले चर्को रुप लिंदा माधवकुमार नेपाल झन् शक्तिशाली बन्दै गएका छन् । अब उनले जुन पक्षलाई साथ दिन्छन् उही बलियो हुनेछ । यसकारण नेपाल निर्णायक शक्ति बनेका छन् । ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन माधव नेपालले प्रचण्डलाई साथ दिनुपर्ने हुन्छ । अविश्वासको प्रस्ताव रोक्न पनि माधव नेपालकै भूमिका निर्णायक हुन्छ ।

आफूविरुद्ध घेराबन्दी भएको र सत्ता ढाल्ने खेल बढेको सूचना पाएर ओलीले माधव नेपालसँग हात मिलाउन खोजेका छन् । उनले दशैं अगाडि माधव नेपालसँग बालुवाटारमा भेटेर गत मङ्गलबार पनि महत्वपूर्ण कुराकानी गरी राजनीतिक लेनदेनको कुरा गरे । तर, नेपाल विश्वस्त हुन सकेका छैनन् ।

बालुवाटारमा ‘कोर-टिम’ सँग ओलीको छलफल

माधव नेपालले यसपटक प्रचण्डसँगको गठबन्धनलाई निरन्तरता दिएर कठोर कदम चाल्नेतर्फ अगाडि बढ्छन् या सबैलाई मिलाउने व्यवस्थापकीय भूमिका निर्वाह गर्छन् हेर्न बाँकी छ । यसअघि नेपालले नै ओली हटाउने योजना बनाएर बोल्ड रुपमा आफूलाई उभ्याएका थिए । यो योजनामा वामदेव गौतम ब्याक भए, प्रचण्डले पनि ओलीसँग सहमति गरे तर नेपाल जहींको तहीं रहे । उनले यसपटक कस्तो कदम चाल्ने हुन् ? यो चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्