काठमाडौं, २४ पुस । पूर्वउपप्रधान एवं गृहमन्त्री डा.भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आफूले लगाएको सबै आरोप पुष्टी गर्नसक्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले लगाएको आरोपको बारेमा ओली वा ओलीले पठाएका जोकोही व्यक्तिसँग डिबेट गर्न तयार रहेको उनले बताए ।
एमालेबाट निष्काशित भएपछि रावलले ओलीमाथि विभिन्न गम्भीर आरोप लगाएका थिए । आफूले कहिल्यै पनि झुटा नबोलेको र आगामी दिनमा पनि झुट नबोल्ने बताए । उनले भने, ‘मैले त्यो पत्रकार सम्मेलनमा जतिकुरा लेखेको छु, सबैको तिथिमिति दिएको छु । यदि तपाईँ सहमत गराउन सक्नुहुन्छ भने नेकपा (एमाले) का केपी ओलीजी वा उहाँले खटाएको, उहाँले सबैभन्दा तिखर, विलक्षण भनेको व्यक्ति कोही आउन, मेरो खण्डण गरोस् । म चुनौति दिन चाहन्छु् । मैले तथ्यहीन कुरा एउटा गरेको छैन । आगामी दिनमा पनि गर्दिनँ ।’
साथै, उनले आफ्नो ओलीप्रति कुनै रिस, डाहा नरहेको बताए । उनले आफू एक देशभक्त नागरिक भएको नाताले अन्याय, अत्याचार, मनपरी र मर्यादाविपरीतका अनेक काम र भ्रष्टाचारीहरुको विरुद्ध संघर्ष गर्दै आएको बताए । नेता रावलले ओलीले भ्रष्टाचारी र अपराधीहलाई काखी च्यापेको आरोप लगाए ।
साथै, उनले आफूलाई ओलीलगातका नेताहरुले राजावादीहरुको गोटी बन्न लाग्यो भन्दै आरोप लगाएको स्मरण गराउँदै त्यसको खण्डण गरे । निर्वाचनको बेलामा राप्रपा, राप्रपा नेपाललगायतका दलहरुसँग गठबन्धन गरेको बताउँदै नेता रावलले बरु एमाले अध्यक्ष ओलीलाई राजावादीको गोटी भन्न सुहाउने बताए ।
्नेता रावलले एमालेमा अहिले मार्क्सवाद र लेलिनवादको कुनै रङ्ग नरहेको बताए । उनले भने, ‘नेकपा (एमाले) बामालेमा परिणत भएको छ । मार्क्सवाद, लेलिनवादको कुनै रङ्ग छैन त्यहाँ ।’ File Photo/RN