Logo

ललितपुर महानगरलाई स्वर्गनगरी बनाउने मिसन र भिजन ल्याउँछु : चित्रकार



बाबुराजा चित्रकार किशोरावस्था देखि नै नेपाली काँग्रेसको सक्रिय राजनीतिमा छन् । शारीरिक अपाङ्गताका बाबजुद जनताको घर दैलोमा पुगेर जनहितमा सधै क्रियाशील रहने उनी काँग्रेसवृत्तमा मात्र नभई ललितपुरको स्थानीय तहमा उत्तिकै लोकप्रीय छन् । काँग्रेसको प्रभावशाली नेताहरूसँग सिधा सम्बन्ध रहेका बाबुराज आफैमा उदाहरण बनेर उभिएका छन् । त्रीचन्द्र कलेजको सचिवको जिम्मेवारी सम्हालेर नेविसंघको सहमहामन्त्री सम्म बनेका उनी गणेशमान सिंह केन्द्रका अध्यक्ष हुन् । राजनीतिलाई नै आफ्नो जीन्दगीको उद्देश्य मानेर हिंडेका छन् उनी । देशलाई समृद्ध बनाउन नेताले त्याग, तपस्या र जनहितका लागि प्रतिवद्ध भएर लाग्नुपर्ने बताउने उनी ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारको दौडमा अग्रपंक्तिमा छन् । नगरपालिकाको उम्मेदवारीको आन्तरिक तयारीमा लागेका उनीसँग रिपोर्टर्स नेपाल डटकमले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं ललितपुर महानगरपालिकाको मेयरको आकांक्षी हो ?

मैंले कहिले पनि यो या त्यो पद चाहियो भनेको छैन । म नेपाली काँग्रेसको कार्यकर्ता हुँ । पार्टीले गर्ने निर्णय मेराविरुद्ध छ भने पनि स्वीकार्न तयार हुँदै आएको व्यक्ति हुँ । पार्टीले चुनावी मैदानमा उतार्ने निर्णय ग¥यो भने पछि हट्ने छैन । तर, म अग्रज दाजु दिदीहरूलाई चिढ्याएर लाभको पदमा जाने पक्षमा छैन । सबैले हौसला र प्रोत्साहन दिएर यहाँसम्म पु¥याउनुभयो । भविष्यमा पनि मप्रति अग्रजहरूको माया, स्नेह र हौसला जारी रहने आशा राखेको छु ।

तपाईभन्दा लामो समय पार्टीमा योगदान दिएका स्थानीय नेताहरूलाई टिकट नदिई तपाईंले कसरी पाउनुहोला ?

मैंले टिकट मलाई नै चाहिन्छ भनेको छैन । पार्टीमा मभन्दा लामो समय देखि काम गर्दै आउनुभएका अग्रजहरूको सधै सम्मान गरेको छु । मेरो यतिमात्र भनाई हो कि सही ठाउँमा सही व्यक्ति हुनुपर्छ । पार्टीले सही ठाउँमा सही व्यक्तिलाई अगाडि बढाउने निर्णय गर्नेमा विश्वस्त छु ।

तपाईंलाई टिकट दिंदा अग्रजहरूले कसरी चित्त बुझाउने या स्वीकार्ने गर्नुहोला ?

देशमा तीन तहको चुनाव हुँदैछ । स्थानीय, प्रदेश र संसदको चुनाव २०७४ सालमा गर्नुपर्ने वाध्यात्मक व्यवस्था छ । चुनावले सक्षम र सबल नेता कार्यकर्ताको व्यवस्थापन गर्नेछ । जनताले रुचाउनुभएको र जनअपेक्षा अनुसार काम गर्न सक्नेहरूलाई पार्टीले अगाडि बढाउनेछ । नेपाली काँग्रेस संस्थागत निर्णयमा चल्ने पार्टी भएकाले नेता कार्यकर्ताले चित्त नबुझाउने र अस्वीकार गर्ने भन्ने हुँदैन । पार्टीले सही र सक्षमलाई टिकट दिने भएकाले सबैका लागि मान्य हुनेछ ।

तपाईं प्रकाशमान सिंह संरक्षक रहनुभएको गणेशमान सिंह केन्द्रको अध्यक्ष हुनुहुन्छ । त्यसैले तपाईलाई काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको विशेष आशिर्वाद छ भनिदैछ नि ?

म नेपाली काँग्रेसको सिपाही हुँ । म काँग्रेसको नीति र सिद्धान्त अनुसार चल्दै आएको छु । मेरा आदर्श भनेको वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता नेताहरू हुनुहुन्छ । वीपीले समाजवादी चिन्तनलाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई बलियो बनाउन जेल नेल भोग्नुभयो । उहाँले जहिले पनि ठूलो मान्छे बन्न सजिलो छ तर असल बन्न कठिन छ भन्नुभयो । वीर गणेशमान सिंहले किस्तिमा आएको प्रधानमन्त्री पद त्यागेर भावी पुस्तामा नैतिकताको महानतम् पाठ सिकाउनुभयो । कृष्णप्रसाद भट्टराईको सादगी जीवनबाट हामीले सिक्नुपर्छ । उहाँले प्रधानमन्त्री पदमा रहेर बालुवाटार छाड्दा छाता, ट्यांका र सुराई मात्र लिएर फर्कनुभयो । गिरिजाप्रसाद कोइरालाले दृढतापूर्वक लोकतन्त्रको पक्षमा उभिएर देशमा दीगो शान्ति स्थापनार्थ जोखिम मोल्नुभयो । उहाँले जे भन्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो । यस्ता नेताहरूको सिद्धान्त, आदर्श र त्यागले सिंचित पार्टी हो काँग्रेस । काँग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताहरू कसैको आशिर्वादले यहाँसम्म पुग्नुभएको होइन । उहाँहरूको राजनीतिमा लामो त्याग र तपस्या छ । उहाँहरूका राजनीतिक गुरूहरूले सक्षम देखेरै नेतृत्व विकासमा उहाँहरूको चयन गर्नुभयो । त्यसरी उहाँहरूले नेतृत्व विकास गर्दा त्यस्तै मिहेनती, पार्टीको सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध र कर्मयोगीलाई प्रोत्साहित गर्नुहुनेमा विश्वस्त छु ।

ललितपुर महानगरपालिकामा टिकट पाउनका लागि नेताहरूको दैलो चाहार्ने प्रतिष्पर्धा नै चलेको छ, तपाईं कत्तिको दौडधुपमा हुनुहुन्छ ?

राजनीतिक सल्लाह लिनका लागि नेताहरूको घरमा जानु स्वाभाविक हो । जहाँसम्म मेरो व्यक्तिगत विषय छ म स्थानीय तहमा काम गर्दै आएको छु । स्थानीय तहमा दाजुभाई तथा दिदीबहिनीलाई कठिनाई पर्दा होस् या विकासमा काम गर्नुपर्दा नै किन नहोस् खटिइरहेको छु । जनताले चाहेको विकास हो । त्यसमा मेरो के कत्ति योगदान छ अग्रज नेताज्यूहरूले मूल्यांकन गर्नुभएको होला । जनताले चाहेको उम्मेदवार को हो भन्ने जानकारी नेपाली काँग्रेस जस्तो इतिहास बोकेको पार्टी हाँक्ने नेताहरूलाई नहुने सवालै छैन । म काममा विश्वास गर्ने मान्छे । काम गरेर आफ्नो क्षमता र योग्यता प्रमाणित गर्न लागिरहनेछु ।

काँग्रेसमा माथिबाटै टीको लगाएर नेता बनाउने र टिकट दिएर पठाउने प्रचलन छ, तपाईंको यस्तो कुराले नेताहरूले कसरी पत्याउलान् ?

नेपाली काँग्रेस राणा शासन देखि शाही शासनसम्म लडेको पार्टी हो । नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा कुनै पार्टी छैन । पार्टीमा लोकतान्त्रिक प्रणाली अन्र्तगत रहेर चुनाव हुन्छ । पार्टी विधि र विधान अनुसार चल्छ । विधि र विधान अन्र्तगत रहेर टिकट वितरण हुने निश्चित छ । जो जनतामाझ लोकप्रीय छ र काम गर्न सक्छ उसैलाई पार्टीले उम्मेदवार बनाउँछ । पार्टीका सबै कार्यकर्ताहरू पार्टी निर्णयलाई स्वीकारेर एकतावद्ध भएर चुनावमा सक्रिय हुनुहुनेछ ।

तपाईसँग ललितपुर महानगरपालिका हाँक्न सक्ने के-के क्षमता छ ?

कुनैपनि जिम्मेवारीलाई सकारात्मक सोच, दृढ इच्छाशक्ति, सही दृष्टिकोण र कार्यान्वयनमुखी शैलीबाट पूरा गर्न सकिन्छ । मलाई सबै क्षेत्रका मित्र र अग्रजहरूको साथ र माया छ । एक्लै केही हुन सक्दैन । सबैको साथ सहयोग र सक्रियताबाट असम्भव भनेको पनि सम्भव बनाउन सकिन्छ । म असम्भवलाई सम्भव बनाउने अठोटका साथ बढ्न साहसका साथ बढ्न तयार छु । मसँग आत्मबल र इच्छाशक्ति छ । भिजन र मिसनका साथ पाएको जिम्मेवारी सफल बनाएको छु । पार्टीले जिम्मेवारीका लागि बढ्न भन्यो भने ललितपुर महानगरपालिकालाई नाम जस्तै सुन्दर र नमूना महानगरपालिका बनाउने परिकल्पना गरेको छु । त्यसलाई साकार बनाउन मसँग स्पष्ट दृष्टि र दृष्टिकोण दुवै छ । बोलेर होइन गरेर देखाउने हिम्मत मभित्र छ ।

ललितपुरमा के के समस्या र सम्भावनाहरू छन् ?

ललितपुर स्रोत र साधन कम भएको महानगर होइन । ललितपुरको विशिष्ट पहिचान छ । ऐतिहासिक पाटन दरबार देखि प्रशिद्ध मठ मन्दिरहरू छन् । सांस्कृतिक रुपमा सम्पन्न छ । यसकारण पनि पर्यटकीय क्षेत्र हो ललितपुर । ललितपुर महानगरपालिका भित्र नै औद्योगिक क्षेत्र छ । देशकै प्रतिष्ठित शैक्षिक संघसंस्थाहरू छन् । सम्भावनाहरू धेरै भएपनि तिनको व्यवस्थापनको चुनौती छ । महाभूकम्पपछिको पुर्ननिर्माणमा ढिलाई भइरहेको छ । त्यसलाई गति दिनुपर्छ । विकासनिर्माण प्रभावकारी हुन सकेको छैन । त्यसलाई चुस्त र दुरुस्त बनाउनुपर्छ । सार्वजनिक यातायातको उचित व्यवस्थापन देखि वातावरण स्वच्छ र सफा बनाउने पहलकदमीको आवश्यकता छ । ललितपुरलाई स्मार्ट सिटी बनाएर देशकै उदाहरणीय नगरी बनाउन सकिन्छ । त्यसका लागि कार्यान्वयन गर्न सकिने मिसन र भिजन बनाएर जान सकिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा ललितपुर महानगरपालिकाको पहिचान छ । मैंले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी हुँदा विकासको मोडल बुझेर आएको छु । ग्लोबल कनेक्टिभीटिमा आधारित रहेर महानगरलाई सँसारका विकसित शहरहरूको दाँजोमा पु¥याउने र तिनीहरूसँग कनेक्टिभिटी गराउन सकिन्छ । त्यसमा मैंले काम गर्ने परिकल्पना बनाएको छु ।



प्रतिक्रिया दिनुहोस्