Logo

अझै पनि न्यायालयमा सबैको पहुँच हुन सकेको छैन : प्रधानन्यायाधीश कार्की



दाङ, २६ चैत । प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखापरका कारण देशको समृद्धि हुन नसकेको बताउनुभएको छ ।

उच्च अदालत तुलसीपुर, दाङमा आज आयोजना गरिएको मेलमिलापसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले राजनीतिक प्रभाव र भागबन्डाको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिनुुभयो ।

“हरेक क्षेत्रमा भागबन्डाको राजनीति हुन्छ, सामाजिक रुपमा समान हेराइ र व्यवहार गर्न सकिए मात्र पछाडि परेका नागरिकको उत्थान हुन सक्छ,” उहाँले भन्नुभयो ।

अदालतप्रति नागरिकको विश्वास बढाउन न्यायाधीश, अदालतका कर्मचारीको बोली व्यवहारमा समेत परिवर्तन गर्नुपर्ने उहाँको सुझाव थियो । “बोली व्यवहार अझै परिवर्तन हुन सकेको छैन, न्यायसम्पादनमा लामो समय लाग्ने र खर्च हुने भएकाले न्यायालयमा सबैको पहँुच हुन सकेको छैन,” कार्कीले भन्नुभयो ।

“पाँच÷सात प्रतिशत सहरीया व्यक्तिको मात्र अदालतसम्म पहुँच छ,” उहाँले भन्नुभयो । मुद्दा फैसलाको अर्को विकल्प मेलमिलाप भएको र अदालतबाट गरिएको फैसला कार्यान्वयनमा जटिलता हुने गरेको कार्कीको भनाइ थियो ।

सोही अवसरमा न्यायपरिषद्का सदस्य पदम वैदिकले मेलमिलाप एउटा औजार भए पनि यसलाई समुदायमा अझै प्रभावकारी रुपमा लैजान नसकेको बताउनुभयो । “मेलमिलापको दरमा किन कमी भएको छ, यसको समीक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन नसकेका थुप्रै उदाहरण रहेका र मेलमिलापबाट प्राप्त उपलब्धि सजिलै कार्यान्वयन हुने उहाँको भनाइ थियो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले मेलमिलापसम्बन्धी जानकारी र सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाले नेपालमा मेलमिलापसम्बन्धी कानुनी व्यवस्था र मेलमिलाप सरोकारवालाको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot