Logo

बार्सिलोना महत्वपूर्ण खेलमा पराजित



काठमाडौं, २७ चैत । स्पेनिस ला लिगाको उपाधि होडमा शीर्ष स्थानको रियल मड्रिडलाई दबाब दिँदै आएको बार्सिलोना महत्वपूर्ण खेलमा पराजित भएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको बार्सिलोना मालागासँग २–० ले पराजित भयो । अवे मैदानमा भएको खेलमा जित निकालेको भए बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गर्ने थियो ।

तर ६५ औं मिनेटमा नेइमार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको बार्सिलोनालाई घरेलु टोली मालागाले हरायो । उसको जितमा रामिरेज र रोड्रिग्वेज मेनेन्डेजले गोल गरे । ३२ औं मिनेटमा रामिरेजले गोल गर्दै मालागालाई सुरुवाति अग्रता दिलाए । खेलको अन्तिम समयमा मेनेन्डेजले गोल गरेपछि मालागा २–० ले विजयी भयो ।

हारपछि दोस्रो स्थानको बार्सिलोनाको ३१ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ७२ अंक भएको छ । बार्सिलोनाको एक खेल बढी खेलेर पनि रियलको भन्दा तीन अंक कम छ । राति नै भएका खेलमा सेभिल्लाले डिप्रोटिभो डि लाकोरुनालाई ४–२ तथा स्पानियोलले एलाभेसलाई १–० ले हरायो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot