Logo

एनसेल कहीँ गएको छैन, कर उठाईन्छ : प्रधानमन्त्री



काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग जसरी पनि कर उठाइ छाड्ने उद्धघोष गरेका छन् ।

आइतबारको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । एनसेल बेच्ने र किन्ने दुबै पक्षसँग सरकारले वार्ता गरिरहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले अहिले एनसेल कहिँ नगएको बताउँदै भने,‘हामी जसरी पनि कर उठाउँछौं । उनले विगतमा विक्रेतासँग कर नलिएकोबारे समेत सरकारले छानविन गर्ने पक्षमा आफू रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले अघि भने,‘कर छुट दिने कुनै प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैन, मन्त्रिपरिषदमा छिटोभन्दा छिटो कर असुली गर्नुपर्छ भन्नेमा छलफल भएको छ।’उनले एनसेलसँग राज्यले लिनुपर्ने कर उठाउन कुनै कसर बाँकी नराख्ने बताउँदै भने,‘इफ बट केही नभनी कर उठाईन्छ, यसमा उदारता हुँदैन।’

बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपालको कानुन अनुसार लाभकर विक्रेतासँग लिने भन्ने छ। तर विक्रेतसँग किन असुल गरिएन? यसको पनि छानबिन गरेर यो विषयलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याइने आश्वासन दिए।

प्रधानमन्त्री कार्यालयमा एनसेलको अहिलेको कम्पनी आजियाटाले पुरानो कम्पनीबाट उठाइयोस भनेर निवेदन दिएको भन्दै उनले भने, ‘मन्त्रिपरिषदमा मौखिक रुपमा छलफल मात्र भएको हो । लिखित प्रस्ताव पुगेको कुरा गलत हो ।’

उनले क्रेताबाट नभइ बिक्रेताबाट लाभकर उठाउन प्रयास मात्र गरिएको बताए ।प्रधानमन्त्री प्रचण्डले क्रेता-बिक्रेता दुबैलाई राखेर लाभकर कसले तिर्ने भन्ने बारे छलफल गरी टुंगोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै लाभ कर चुक्ता नगरी कम्पनी किनबेच भएकोबारे अध्ययन तथा छानविन समिति बनाउने बचन दिएका छन् ।

एनसेललाई तिर्नु पर्ने कर नतिर्नु पर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव गएको भन्दै लेखा समितिले सोबारेमा बुझ्न प्रधानमन्त्रीलाई बैठकमा बोलाएको थियो। समितिको आजका लागि तय गरेको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए।

समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पूँजीगत लाभकरका विषयमा प्रधानमन्त्रीसँग नै जानकारी लिने निर्णय भएअनुसार बैठकको मिति तय गरिएको हो।



प्रतिक्रिया दिनुहोस्