Logo

भक्तपुरमा आठरात नौ दिन मनाइने बिस्केट जात्रा सुरु



भक्तपुर २८ चैत । नयाँ वर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक, साँस्कृतिक एवम् तान्त्रिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।

आज अपराह्न ५ बजे तौमढीबाट भैरव नाथको रथ तानेर हर्षोल्लासका साथ जात्रा सुरु भएको छ ।

बिहान ५ बजे भैरबको पूजा गरेपछि दिउँसो तान्त्रिक विधिद्वारा देवताको घरमा रहेका भैरबलाई रथमा ल्याएर बिराजमान गराई भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाईके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी पुजा सकेर रथ तान्न सुरु गरिएको थियो ।

रथलाई तौमढीबाट माथि र तलका बासिन्दाले आ–आफ्नौ क्षेत्रमा लैजान तान्ने गर्दछन् । रथ तान्ने क्रममा माथिका बासिन्दाले तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रय पु¥याइ फर्काउने र गःहिटी पु¥याएपछि आज पहिलो दिनको रथजात्रा विसर्जन गरिन्छ ।

तलका बासिन्दाले रथ तानेर लान सकेमा गःहिटीबाट नासमना, बंशगोपालसम्म लैजाने र फर्काएर पुन ः गःहिटीमा ल्याएर राख्ने परम्परा छ । माथि र तलको बासिन्दाले रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुने र हिंसा बढ्न सक्ने भएपछि सुरक्षाका लागि भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले नेपाल प्रहरी र शसस्त्र प्रहरी गरि एक हजार ५०० सुरक्षाकर्मी तैनाथ गरेको छ ।

हिंसात्मक घटना हुन नदिन र निग्रानी गर्न जात्रास्थल लगागतका क्षेत्रमा २४ वटा सिसिक्यामरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले जानकारी दिनुभयो ।

त्यसैगरि हिंसात्मक घटना वा रथ तान्दा हुने दुर्घटनामा घाइते भएमा तत्कालै उद्धार एवम् उपचारका लागि उद्धार टोली र भक्तपुरमा २४ सै घण्टाको विशेष उपचार टोली खटाएको उहाँले जानकारी दिनुभयो ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँचदिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठरात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन् । बिस्केट जात्राको पहिलो दिन आज सोमबार बिहानैदेखि भैरब र भद्रकालीको पूजा गरेपछि अपरान्हबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा छ ।

विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको बताइन्छ भने विश्व केतुको पछिल्लो रुपान्तरणका रुपमा विश्व नाथ भैरब एवम् शिव र शक्तिको प्रतिकका रुपमा जात्रा मनाउने प्रचलन छ । विस्केटलाई सहकालको देवताको प्रतिकका रुपमा समेत लिइने इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो ।

चैत अन्तिम दिन भेलुखेलमा इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यस दिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहे अनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

नेपाल सम्वत २६८ अर्थात् लिच्छवी कालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवम् त्यही प्रचलन आजसम्म चल्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot