![](https://reportersnepal.com/wp-content/uploads/2017/04/karna-1-900x600.jpg)
काठमाडौं, २९ चैत । मधेशी मोर्चाका शीर्ष नेता लक्ष्मणलाल कर्णले सदनमा दर्ता भएको नयाँ संशोधन विद्येयक हेरेपछि मात्रै मोर्चाले आधिकारिक प्रतिक्रिया दिने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘अहिलेसम्म सरकारले हामीसँग विद्येयक यस्तो आउँदैछ है भनेर कुनै कुरा भनेको छैन, हामीले नयाँ संशोधन प्रस्ताव देखेको छैन, हामीसँग सल्लाह गरेको अनुसार नै प्रस्ताव ल्याएको भनेर सरकारले दाबी गरेको छ, यदि हामीले दिएको सुझाव अनुसार प्रस्ताव आएको हो भने हामी यसलाई पारित गराउँछौं, अनिमात्रै हामी निर्वाचनमा भाग लिन्छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै कर्णले अहिलेसम्म आफूहरुले उक्त नयाँ संशोधन विद्येयक नहेरेको दाबी गरे । उनले भने,‘प्रस्ताव दर्ता गरेरमात्रै हुँदैन, हामी मान्छौं भनेकै छैनौं , हाम्रो देशमा प्रधानमन्त्री प्रचण्डजीले एक एक दिनमा कुरा फेर्नुहुन्छ ।’
उनले मोर्चाले भनेजस्तै प्रस्ताव आएको भए आफूहरुले त्यसलाई स्वागत गर्ने र सरकारले चाह्यो भने सुपर फाष्ट ट्रयाकमा संशोधन पारित गराउन सक्ने समेत विश्वास दिलाए । उनले भने,‘फाष्ट ट्रयाकमा संविधान जारी गर्नेहरुले संशोधन चाहे भने ५ दिनमा पारित गर्न सक्छन्, सुपर फाष्ट ट्रयाकमा पारित गराए भैहाल्छ नि ।’
उनले संविधान संशोधन नभईकन मधेशी मोर्चाले चुनावमा भाग नलिने स्पष्ट पारेका छन् । उनले भने,‘प्रतिनिधित्वको लागि कति लड्ने ? जनसंख्या र भूगोलको आधारमा प्रतिनिधित्व गर्ने सिद्धान्तलाई फलो गर्नुपर्छ ।’
कर्णले ५१.३ प्रतिशत जनसंख्या रहेको मधेशमा किन थोरै संख्या बनाईयो भन्दै प्रश्न समेत गरे । यसले गर्दा बजेटसमेत प्रभावित बनेको उनको गुनासो छ । उनले मधेशका सम्पूर्ण जनता आजको दिनसम्मपनि चुनावको पक्षमा नरहेको जनाए ।
उनले संसारमै स्थानीय तह प्रदेश मातहात हुने व्यवस्था उल्लेख गर्दै गर्दै नेपालमा भने प्रदेश सभा गठन नगरी स्थानीय तहको निर्वाचन गर्नु दुर्भाग्य भएको टिप्प्णी गरे । यद्धपी उनले मोर्चा निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे। उनले थपे,‘हामी निर्वाचनको विरोधी होईनौं ।’
उनले प्रस्ताव आउनु नौलो कुरा नभएको समेत टिप्पणी गरे । कर्णले भने,‘यहाँ त प्रस्ताव आउँछ, फेरि फिर्ता हुन्छ, किनकी प्रस्ताव ल्याउने बेलामा प्रचण्डजीले हामीले भनेजस्तै गरी प्रस्ताव ल्याउँछु भन्नुहुन्छ, तर ल्याउने बेला अर्के प्रस्ताव ल्याउनुहून्छ ।’
उनले प्रस्ताव दर्ता भएपछि त्यसबारे कसरी अघि बढ्ने भन्नेबारे संभवत भोलि नै मोर्चाको बैठक बस्ने समेत जानकारी दिए ।