शान्ति सुरक्षाको मामिलामा विशेषगरी राजधानीवासीको ध्यान दुई अवस्थामा बढी केन्द्रित हुन्छ । त्यो हो– ठूला घटना–दुर्घटना हुँदा र खुङ्खार अपराधी पक्राउ पर्दा या मारिँदा । अनि धेरैको चासो रहने गर्छ– अहिले काठमाडौंमा शान्ति–सुरक्षाको जिम्मा वा ग्यारेन्टी लिएर आएको प्रहरी प्रमुख को छ भनेर । हो– यतिबेला पनि यस्तो चर्चा चलिरहेको छ काठमाडौं तथा आसपासका क्षेत्रमा । र, पछिल्ला दिनमा उहाँकै सक्रियताले आडभरोसा लाग्ने, चित्तबुझ्दो जवाफ पनि पाएका छन् नागरिकले । मुख्यतः पुराना अपराधी भटाभट पक्राउ परेर कानुनी दायरामा आउनु, थप आपराधिक घटना नहुनु, राजधानीको शान्तिसुरक्षा बलियो हुँदै जानु आदिमा उहाँको ठूलो देन रहेको छ ।
त्यसले उहाँको साख उच्च पारेको मात्रै होइन– लोकप्रियता पनि बढाएको छ । राष्ट्रसेवक हुनुको गर्व, मुलुक र नागरिकप्रतिको जिम्मेवारी एवं उत्तरदायित्व साबित गर्नुभएको छ उहाँले । र त आफ्नो निस्वार्थ गन्तव्यतर्फको पाइलालाई अघि बढाउँदै शिखरतर्फ लम्कँदै हुनुहुन्छ उहाँ । राष्ट्रियताप्रतिको भावनाले ओतप्रोत, हक्की स्वभावका, निष्ठावान्, प्रभावशाली एवं आफ्नो कर्तव्य–जिम्मेवारीबारे जागरुक अनि प्रतिबद्ध निडर व्यक्तित्व हालका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) छविलाल जोशीको साझा परिचय हो यो ।
छविलालको जन्म विक्रम सम्वत् २०२२ साउन ७ गते नेपालको मध्यपश्चिममा पर्ने अर्घाखाँची जिल्लाको अर्घातोष गाउँ पञ्चायत वडा नं.– ९ पटौटीमा खिमानन्द बन्जाडे र शिवकलाका ४ छोरी तथा ३ छोरामध्ये चौथो सन्तानको रूपमा भएको हो । गाउँको हुनेखाने, गन्यमान्य अनि सम्पन्न परिवारमा जन्मनुभएका उहाँको बाल्यकाल संगीहरूको भन्दा अलि पृथक् र रोमाञ्चक ढंगले बित्यो । अझ उहाँका बुवा–दाइहरू त आफ्नो गाउँघरमा मोटरबाटो नपुग्दासम्म यताउति आवत–जावत गर्न घोडा चढ्नुहुन्थ्यो रे । सामान्यतया त्यस्तै ३÷४ वर्षको उमेरमा उहाँलाई घरनजिकैको तत्कालीन श्री वीरेन्द्र निम्न माध्यमिक विद्यालयमा भर्ना गरियो । तर, त्यहाँ उहाँले लामो समय अध्ययन गर्नुभएन ।
आफ्नो प्रारम्भिक औपचारिक शिक्षाप्राप्तिको क्षण स्मरण गर्दै छविलाल भन्नुहुन्छ– ‘त्यो त केवल आधारभूत शिक्षा भयो, डेढ÷दुई वर्ष स्कुल जान नपाई बुवाले भारत लिएर जानुभयो ।’ उसो त भारतको पूर्वी प्रान्त मेघालयको राजधानी सिलाङस्थित लवान भन्ने ठाउँमा उहाँका बुवा खिमानन्द काठ–दाउराको व्यवसाय गर्नुहुन्थ्यो । त्यहाँ अब्बल दर्जाको नेपालीको रूपमा चिनिनुहुन्थ्यो उहाँ । त्यतिबेलै व्यापार प्रयोजनको लागि उहाँको ६४५६ नं. को निजी ट्रक थियो । सेनामा जागिर नखाए पनि शारीरिक बनावट देखेर सम्मानपूर्वक ढंगले उहाँलाई सबैले क्याप्टेन भनेर सम्बोधन गर्दथे । त्यहाँ उहाँको राम्रो छवि थियो, सबैको प्रिय हुनुहुन्थ्यो ।
यसो समय मिलाएर घर आएको बेला उहाँले छविलाललाई पनि साथै लिएर जानुभयो । कलिलै उमेरमा छविलाल नितान्त नयाँ–नौलो, फरक भूभाग, रहनसहन, भेषभूषा र परिवेशमा पुग्नुभयो । हुन पनि जोकोही नेपालीले कल्पनासमेत गर्न नसक्ने वातावरण छ त्यहाँको । लवानमा अधिकांश बस्ती ‘खासी’ समुदायको छ । क्रिश्चियन धर्म मान्ने उनीहरूको परम्परा र संस्कार पनि बेग्लै खालको हुने नै भयो । त्यहाँ विवाह गरेपछि केटाले केटीको घर जानुपर्ने अनि उसले घरधन्दा र केटीले घरव्यवहार सम्हानुपर्ने प्रचलन छ । फेरि, केटीले चाहेमा जुनसुकै बेला पनि केटालाई घरबाट निकाल्न सक्छन् । आमाको नाम–थरको आधारमा सन्तानको जात लेखिन्छ । जेठो छोराले थोरै र कान्छोले सबैभन्दा बढी अंश पाउने अधिकार छ त्यहाँ ।
यद्यपि छोरालाई पनि छोरीसरह अंश दिनुपर्छ भन्ने विधेयक त्यहाँको संसद्मा भर्खरै आएको छ । भारतको सबैभन्दा बढी गाई काटिने ठाउँ पनि त्यही हो । भारत भए पनि त्यहाँ हमेसा कसैले हिन्दी बोल्दैन । बोलिहाले पनि त्यो शुद्ध हुँदैन । र त बोलीचालीमा अंग्रेजी भाषा नै प्रयोगमा आउँछ । विश्वकै सवैभन्दा बढी पानी पर्ने स्थान चेरापुञ्जी नजिक रहेको, चिसो मौसम भएको सुन्दर ठाउँ भएर नै होला– लवान पूर्वको ‘स्कटल्याण्ड’ भनेर चिनिन्छ । हो– छविलाल त्यहीं पुग्नुभयो ।
केही दिनमा उहाँलाई स्थानीय ‘मैदान लवान स्कुल’मा तीन कक्षामा भर्ना गरियो । सानैदेखि लगनशील, मेहनती र तीक्ष्ण बुद्धिका छविलालले अध्ययनमा पनि आफ्नो क्षमता प्रदर्शन गर्नुभयो र कक्षामा सधैं प्रथम हुनुभयो । ‘पढाइमा अब्बल’को उपाधि पाउनुभएका उहाँले २०३७ मा त्यहीँबाट एच.एस.एल.सी. पास गर्नुभयो । त्यसैगरी २०३९ मा नेपालको ११, १२ कक्षाजस्तै पीओ गर्नुभयो भने २०४१ मा बी.कम. पूरा गर्नुभयो । अनि उहाँको सोच एमबीए गर्ने थियो ।
त्यसका लागि भने एक वर्षे बी.कम. (अनर्स) कोर्स अनिवार्य गर्नुपर्ने हुन्थ्यो । र त उहाँले त्यो पनि २०४२ मा पार गर्नुभयो । समय एवं रीतले बित्दै थियो– यत्तिकैमा उहाँको कृष्ण जोशी नामको सहपाठीले बुवालाई सुनाउनुभएछ एमबीए त नेपालमा पनि पढ्न पाइन्छ भनेर । हो– बुवालाई ‘के खोज्छस् कानो आँखा’ भनेजस्तै भयो । किनकि छविलालको बुवा उहाँलाई लामो समय त्यहाँ राख्न चाहनुहुन्नथ्यो, आफ्नै देशमा पठाउने र पढाउने मन थियो । ‘सिलाङमा ‘थ्री डब्लू’ को भर हुँदैन भन्थे । त्यो हो– वाइन (रक्सी), ओम्यान (आइमाइ) र वेदर (मौसम) । रक्सी नखाने मानिस कमै भेटिन्थ्यो ।यौनको मामिलामा बढी स्वतन्त्रता भएकाले केटीहरूले जोकोही केटालाई पनि सहजै आफ्नो बहसमा पार्न सक्थे अनि कतिबेला घाम लाग्ने वा कतिबेला पानी पर्ने हो– कुनै ठेगान हुँदैनथ्यो’ चुरो पक्ष खुलासा गर्दै छविलाल भन्नुहुन्छ– ‘हो, छोरो त्यस्तै लतमा फस्ला भन्ने भय बुवामा थियो ।’ र त २०४३ मा छविलाल नेपाल आउनुभयो र साथीहरूसँग भाडाको कोठामा सामाखुसी बस्न थाल्नुभयो । अध्ययनका लागि भने शंकरदेव क्याम्पसमा भर्ना हुनुभयो । त्यहींबाट उहाँले एमबीएको दुई वर्षे कोष पूरा गर्नुभयो । त्यतिबेला उहाँको नजिकका साथी भनेका सर्वेन्द्र खनाल, कृष्ण जोशी, भानु जोशी, लक्की जोशीलगायत हुनुहन्थ्यो।
त्यहीबीचमा नेपाल प्रहरीमा निरीक्षक (इन्स्पेक्टर) पदको जागिर खुल्यो, छविलालको सहजै नाम निस्कियो । उहाँले २०४५ असार ३० गतेबाट प्रहरीमा सेवा सुरु गर्नुभएको हो । अनि केही दिनमा तालिममा खटाइयो । स्कुले उमेरबाटै भलिबल, फुटबल, मार्सल आर्ट जस्ता खेलमा राम्रै उपाधि हात पारिसक्नुभएका छविलाल प्रहरीको आन्तरिक तालिममा पनि उत्कृष्ट ठहरिनुभयो । यसपछि उहाँलाई नेपालगन्ज तालिम केन्द्रमा खटाइयो, जहाँ तालिम र अध्ययनमा निपुण अधिकृतलाई मात्रै पठाइने गरिन्थ्यो । त्यहाँ उहाँ एक वर्ष रहनुभयो । त्यसपछि महेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयमा एक वर्ष सेवा गरेर काठमाडौंको २ नं. गण महाराजगन्ज आउनुभयो । त्यहाँ त्यस्तै एक वर्षजति बित्यो ।
२०४८ मा राजनीतिक आन्दोलनको राप निकै चर्चियो । त्रिपुरेश्वरमा थियो– प्रहरीको वाग्मती गुल्म । त्यहाँ राम्रो कमान्ड गर्न नसकेको भनी तत्कालीन प्रमुखलाई हटाएर त्यतिबेलाका प्रहरी महानिरीक्षक (आईजीपी) धु्रवबहादुर प्रधानले छविलाललाई काजमा खटाउनुभयो । त्यस्तै डेढ महिनापछि छविलाल वडा प्रहरी कार्यालय कमलपोखरीको प्रमुख बनेर आउनुभयो । त्यहाँ रहँदाको करिब एक वर्षको अन्तरालमा स्व. राजा वीरेन्द्रका अत्यन्त नजिकका आफन्त–नातेदारसँग उहाँको राम्रो दोस्ती भयो । त्यो घनिष्ठताले उहाँलाई दरबारमा पु¥यायो । त्यतिबेला दरबारमा जान निकै तँछाडमछाड हुन्थ्यो प्रहरीभित्र । ‘मैले लवानमा पढेसिकेको अंग्रेजी त्यहाँ उपयोग गर्ने मौका पाएँ’ उहाँ गर्व गर्नुहुन्छ– ‘दरबारमा अंग्रेजी भाषा बढी बोलिन्थ्यो, त्यसमा म पोख्त थिएँ अनि राम्रो मान्यता पाएँ ।’ त्यसको दुई वर्षपछि उहाँ यूएन मिसनमा एक वर्षका लागि इराक जानुभयो । त्यहाँबाट फर्किएर जिप्रका हनुमानढोकामा एक वर्ष बस्नुभयो ।
त्यसो त २०५५ तिरको सन्दर्भ हो, अब भने समयले अलि फरक मोड लियो । छविलालको अग्निपरीक्षा पनि सुरु भयो । त्यतिबेलासम्म विद्रोही माओवादीले थालेको ‘युद्ध’ उत्कर्षतर्फ बढ्दै थियो । उहाँलाई माओवादीको मुख्यालय भनेर चिनिने अतिप्रभावित जिल्ला रोल्पा खटाइयो । त्यही क्रममा नायब उपरीक्षक (डीएसपी) मा पदोन्नति हुनुभयो । ‘जिल्ला प्रमुख भएर त गइयो तर, बढुवा भएको तीन महिनासम्म पनि फूली लगाउन पाइएन’ उहाँ रहस्योद्घाटन गर्नुहुन्छ– ‘एक, माथिल्लो निकायबाट जिल्ला नछाड्न आदेश आयो, दोस्रो काठमाडौं आउने स्थिति पनि थिएन ।’ यसरी उहाँ नौ महिनासम्म रोल्पा बस्नुभयो । त्यहाँबाट सप्तरीमा एक वर्ष, बझाङमा २० महिना र पर्वत जिप्रकामा एक वर्ष प्रमुखको रूपमा रहनुभयो ।
त्यसपछि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नुभयो । अनि डेढ वर्ष काजमा हनुमानढोका बस्नुभयो । सोहीबेला पाल्पा दरबारमा माओवादीको भीषण हमला भयो । त्यहाँ जान कोही प्रहरी अधिकृत हतपत तयार भएनन्, छविलालले कम्मर कस्नुभयो । ‘मेहनतको फल मिठो हुन्छ’ भनेजस्तै परिणाम निस्कियो । २०६३ मा उहाँ नायब उपरीक्षकबाट उपरीक्षक (एसपी) तहमा पदोन्नति हुनुभयो । र, प्रहरी प्रधान कार्यालयअन्तर्गत आतंकवाद नियन्त्रण शाखामा सरुवा हुनुभयो । त्यसको केही महिनापछि उहाँलाई कञ्चनपुर पठाइयो । त्यहाँ एक वर्ष रहेर सप्तरी जानुभयो । २०६२÷६३ को जनआन्दोलनका बेला उहाँ जिप्रका धनुषामा प्रमुख हुनुहुन्थ्यो । त्यसपछि प्रधान कार्यालयमा केही समय रही सुर्खेत जानुभयो एक वर्षका लागि । यसैगरी काठमाडौंमा आएर प्रहरी पहरा गणको प्रमुख हुनुभयो भने नौ महिनाजति प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सेवा गरेको अनुभव पनि छविलालसँग छ ।
यही क्रममा उहाँको फूली पुनः थपियो– वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुनुभयो । त्यसपछि उहाँ डेढ वर्ष अञ्चल प्रहरी कार्यालय महाकाली बस्नुभयो । अनि काठमाडौं फर्किएर एक वर्ष ट्राफिक प्रहरी निर्देशनालयमा रहनुभयो भने १६ महिना अञ्चल प्रहरी कार्यालय धवलागिरीमा प्रमुखको भूमिका जिम्मेवारीपूर्वक वहन गर्नुभयो । २०७३ माघ १७ गतेबाट भने छविलाल सिंगो मुलुकको ध्यान केन्द्रित हुने महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बन्नुभएको हो । यहाँ आएपछि त झनै उहाँले आफ्नो परिचय र छविको दायरालाई थप फराकिलो पार्दै लग्नुभएको छ ।
छविलालको विवाह भने वि.सं.२०४८ फागुन २२ गते भएको हो– कञ्चनपुर महेन्द्रनगरकी पद्मा केसीसँग । विद्यायय, कलेज अध्ययन गर्दा, सेवाको क्रममा कतै माया–प्रेमको चक्कर चलेन ? कसरी मागी विवाह भयो त ? भन्ने जिज्ञासामा छविलाल मुस्कान मुद्रामा स्पष्ट पार्नुहुन्छ– ‘माया–प्रीतिका कुरा गर्ने र अनेक निहुँमा नजिकिन खोज्ने त थुप्रै थिए । तर, हाम्रो पारिवारिक वातावरण नै अनुशासित थियो । त्यस्तो मामिलामा म पनि निकै सजग थिएँ । त्यसैले अनि एकजना दाइको माध्यमबाट पद्मासँग मागी विवाह भयो ।’ पद्मा कुशल व्यवस्थापक तथा गृहिणीको रूपमा परिचित हुनुहुन्छ । अहिले छविलाल–पद्माको तीन सन्तान हुनुहुन्छ– २३ वर्षीया छोरी तोशिका, १३ वर्षीया श्रीयानश्री र २१ वर्षीय छोरा रोचक । उहाँहरू अध्ययनरत हुनुहुन्छ ।
ऋषि धमला