Logo

आज ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



काठमाडौं ३ बैशाख । स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकेको जानकारी दिए ।
आयोगका सचिव गोपीनाथ मैनालीले कुरागर्दै स्थानीय तह निर्वाचनका लागि ७५ जिल्लामा खटिएका मुख्य निर्वाचन अधिकृतहरू शनिबारसम्म सम्बन्धित जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिए ।

जम्मा ७४४ स्थानीय तहका लागि हुने निर्वाचनमा ७५ जना मुख्य निर्वाचन अधिकृत र अन्य निर्वाचन अधिकृतको नियुक्ति आयोगले गरिसकेको छ । आयोगले ६६९ जना निर्वाचन अधिकृतको कार्यालय भने वैशाख १२ मा खोल्ने तयारी गरेको छ । उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुरमा मुख्य निर्वाचनको कार्यालय खोल्न सबै तयारी पूरा भएको जानकारी सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीले दिएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौँका जिल्ला निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले काठमाडौँका लागि राष्ट्रिय सभामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी पूरा भएको बताए ।
काठमाडौँको मुख्य निर्वाचन अधिकृतमा पुरुषोत्तम ढकाल खटिनुभएको छ र यस जिल्लामा ३२० वटा मतदानस्थल तोकिएका छन् । काठमाडौँमा दुई लाख ७२ हजार २७१ पुरुष र दुई लाख ८७ हजार ११८ महिला र ११ जना तेस्रोलिङ्गी गरी पाँच लाख ५९ हजार ४०० मतदाता छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot