Logo

मुलुक द्वन्द्वमा फस्ने खतरा उब्जिएको छः मन्त्री लेखक



डोटी, ५ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले दुई खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन डोटी शाखाले आज बिहान दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “एकथरीले हिमाल–पहाडमा बस्ने तराई–मधेसका शत्रु’ र अर्को थरीले ‘तराई–मधेसमा बस्ने देशका शत्रु’ हुन् भनेर आरोप लगाइरहेका छन्, यी दुबै खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको हो ।”

मन्त्री लेखकले यस्ता अतिवादले ल्याउन सक्ने द्वन्द्वबाट राष्ट्रियता खतरामा पर्न सक्नेतर्फ सचेत हुन सबैमा आग्रह गर्दै सबै नेपालीलाई जोड्ने काम नै असली राष्ट्रवाद हो भन्नुभयो ।

मुलुकलाई द्वन्द्वबाट जोगाउन ‘मुलुक जोड्ने अभियान’ मा नेपाली काँग्रेस जुटेको बताउँदै उहाँले ‘यसका लागि काँग्रेसले दुबैथरीलाई रिझाउँदै निकासको बाटो खोजिरहेको छ भन्नुभयो ।’

मन्त्री लेखकले संविधानको सर्वस्वीकार्यता बनाउन काँग्रेस लागिपरेको चर्चागर्दै यसका लागि दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता भएको र पछिल्लो प्रस्ताव उपर छलफल चलिरहेको धारणा व्यक्त गर्नुभयो ।

वैशाख ३१ गतेको निर्वाचन कुनै पनि अवस्थामा नसर्ने बताउँदै उहाँले मधेसवादी दल सहमतिमा आउने अवस्था रहे केही जिल्लामा बरु पछि निर्वाचन हुनसक्ने स्पष्ट पार्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot