Logo

राष्ट्रपतिको भारत भ्रमणले जन्माएको प्रश्न



दीपेश केसी : राष्ट्रपति विद्यादेवी भण्डारी ४ वैशाखमा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल उत्रदा उनको स्वागतार्थ नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशबाट लोकसभाको चुनाव जितेकी भारतकी महिला तथा बालबालिका विकास राज्यमन्त्री कृष्ण राज उपस्थित हुनुलाई कतिपय सर्वसाधारण देखि गनेचुनेका परराष्ट्र मामलाका जानकारहरूले समेत नेपाल र नेपालीप्रति भारतको ‘हेपाहा’ प्रवृत्ति भनी टिकाटिप्पणी गरे । नेपाल र नेपालीहरूको अपमान भन्नेहरू पनि भए ।

अतिथिलाई भगवान् मान्ने संस्कार भएका र अतिथि बन्न जाँदा त्यही स्तरको सम्मानको आशा राख्ने नेपाली मनोविज्ञानमा भारतमा आफ्नो राष्ट्रपतिप्रतिको व्यवहारप्रति चित्त नबुझ्नु स्वाभाविक हो ।

व्यवहारिकभन्दा भावुकतामा बढी चल्ने संस्कारमा हुर्किएका कतिपय नेपालीको मन कुँडिएको होला । फलस्वरुप सामाजिक सञ्जालहरूमा तिव्र असन्तुष्टि प्रकट भए । राष्ट्रपति भएपछि पहिलो राजकीय भ्रमणका रुपमा भारत पुगेकी भण्डारीप्रति भारतले विमानस्थल देखि नै कम्तिमा प्रभावशाली मन्त्री पठाएर विशेष स्वागत गर्छ भन्ने विश्वास धेरैलाई भएको हुनुपर्छ । तर, त्यसो भएन । भारतले आफ्नो प्रोटोकल अनुसार नै स्वागत ग¥यो ।

भारतमा स्वागतको प्रचलन

विगतमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीका रुपमा भारत पुग्दा भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागतका लागि विमानस्थल पुगेकी थिइन् । यसलाई मध्यनजर गर्दा पनि राष्ट्रपति भण्डारीलाई कम्तिमा स्वराजले स्वागत गर्लिन् भन्ने आशा धेरैको हुनुसक्थ्यो । तर, त्यसो भएन । प्रोटोकल अनुसार भारतले कुनैपनि विदेशी राष्ट्रप्रमुखलाई स्वागत गर्न कम्तिमा राज्यमन्त्रीलाई नै पठाउने गर्छ र ग¥यो । भारतले त्यो भन्दा माथिको कसैलाई पठाउँछ भने प्रोटोकललाई किनारमा राखेर गरिएको विशेष स्वागत हुनजान्छ । भारतमा महिनैपिच्छे जस्तो विदेशी राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीले भ्रमण गर्ने हुँदा यस्तो स्वागत कमैले मात्र पाउँछन् ।

११ डिसेम्बर सन् २०१५ मा जापानी प्रधानमन्त्री सेन्जो ओबे भारत भ्रमणका लागि दिल्ली विमानस्थलमा उत्रँदा भारतका वित्त राज्यमन्त्री जयन्त सिन्हाले स्वागत गरेका थिए । तर, ३० नोभेम्बर सन् २०१३ मा जापानी सम्राट अकिहितो भारत भ्रमणमा पुग्दा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थलमा पुगी स्वागत गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिङपिङ्ग भारत भ्रमणका क्रममा गुजरात ओर्लदा अहमदाबादस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगी स्वागत गरेका थिए । बङ्गलादेशकी राष्ट्रपति शेख हसिना वाजेद भारत भ्रमणमा पुग्दा मोदी स्वयं दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगी स्वागत गरेका थिए । कुटनीतिमा प्रोटोकललाई समेत किनारामा राखी गरिने अपवादको विशेष स्वागत मानिन्छ यसलाई । कम्तिमा राज्यमन्त्री तहबाट विमानस्थल पुगी स्वागत गरे पुग्नेमा प्रधानमन्त्री स्वयं पुगेका थिए ।

प्रोटोकललाई किनारामा राखी स्वागत

दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा पुग्दा तत्कालीन भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुगेर स्वागत गरेका थिए । ऐतिहासिक मानिएको विशेष स्वागत प्रोटोकललाई किनारामा राखेर नेपालको प्रधानमन्त्रीलाई गरिएको पहिलो विशेष सम्मान थियो । शक्तिशाली देशले विरलै गर्ने यस्ता स्वागत पाउने धेरैजसो भाग्यशाली राजनीतिमा ‘टावर पर्सनालिटी’ को स्तर बनाएका या कुनै शक्तिशाली देशका राष्ट्रप्रमुख हुन्छन् । जनआन्दोलनको सफलता र शान्ति प्रक्रियाको आरम्भमा नेतृत्वदायी भूमिकामा रहेबाट कोइराला दक्षिण एशियाकै प्रभावशाली नेता बन्न सफल भएका थिए ।

बलियो देशको नेताले पनि भारतमा प्रोटोकललाई किनारामा लगाएर उच्च स्वागत र सम्मान पाएका छन् । जस्तैः सन् २०१५ मा भारत भ्रमणमा ओर्लदा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वागत नरेन्द्र मोदीले विमानस्थलमा स्वयं उपस्थित भई गरेका थिए । तर, फ्रान्सका राष्ट्रपति फ्रान्सीस होल्याण्डलाई भारत भ्रमणका क्रममा २४ जनवरी सन् २०१६ मा चण्डिगढ उत्रँदा हरियाणा र पञ्जाबका गर्भनर कप्तान सिंह सोलांकी र हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले विमानस्थलमा पुगी स्वागत गरेका थिए । मोदीले चण्डिगढमा उनीसँग विशेष भेट गरेका थिए ।

नेपालमा अतिथि देवो भवः

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । प्रोटोकल अनुसार स्वागतार्थ मन्त्री गए पुग्ने थियो । तर, विशेष सम्मान दर्शाउन भण्डारी पुगेकी थिइन् । भारतको राष्ट्रपतिलाई विशेष सम्मान दिइँदा राष्ट्रपति भण्डारीलाई भारत पुग्दा किन त्यही स्तरको सम्मान दिइएन भनी प्रश्न उठ्नु अस्वाभाविक होइन ।

विमानस्थलमै भारतको राष्ट्रपति या प्रधानमन्त्री स्वागतका लागि आउने आशा राख्न सकिएला आउनैपर्छ भन्नु तुकसंगत हुँदैन । कस्लाई कसरी सम्मान गर्ने निर्णय अधिकार सम्बन्धित देशको नियम र अधिकार सम्बन्धि विषय हो । यसमा हामीले रोइलो गर्नु नेपालको प्रतिष्ठा भारतले राखिदिनुपर्छ भने जस्तै हो । जसरी नेपालमा आउने कुनै पनि विदेशी नेतालाई कुन तहको स्वागत गर्ने हो नेपाल सरकारको अधिकारको विषय हो त्यसरी नै अन्य देशको हकमा पनि त्यही हो ।

भ्रमणको सार्थकता

राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमा कनिष्ठ राज्यमन्त्रीले स्वागत गरेपनि उनलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवन फोरकोर्टमा संयुक्त रुपमा ‘आलंकारिक सम्मान’ गरेका थिए । यसपछि भण्डारीलाई भारतले खासै महत्व नदिएको भनी टिप्पणी गर्नेहरूको आवाज केही मन्द भएको छ । तैपनि, विमानस्थलमा गरिएको स्वागतको तरिकालाई विषय बनाएर ‘अपमान’ भन्नेहरू नभएका होइनन् । कतिपयले राजाको भ्रमणमा उच्च स्तरको स्वागत हुने सम्मको टिप्पणी गरेका छन् ।

कसले  स्वागत ग¥यो र बिदाई ग¥यो भन्नेले कुटनीतिमा अर्थ राख्छ । यसलाई मध्यनजर गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महत्व नदिएको भन्ने होइन । सेरेमोनियल जस्तै राष्ट्रपतिलाई भारतले सेरेमोनियल सम्मान दिएको छ । सम्मानभन्दा पनि राष्ट्रपति भण्डारीको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन कस्तो योगदान दियो भन्ने प्राथमिक विषय हो ।

२०७२ सालमा भएको ‘नाकाबन्दी’ पछि दुई देशको सम्बन्ध विस्तारै ट्रयाकमा आउँदैछ । भारतले अझै गणतन्त्र नेपालको संविधानलाई स्वागत गरिसकेको छैन । संविधान कार्यान्वयनका लागि तीन तहको चुनाव ७ माघ २०७४ भित्र सम्पन्न गर्नुपर्ने चुनौती छ । त्यसका लागि छिमेकी भारतको सहयोग अपरिहार्य छ ।

संविधान कार्यान्वयनमा भारतीय सहयोगको वातावरण बनाउन योगदान गर्न सकेमा मात्र भ्रमण सार्थक रहन्छ । नत्र नेपालमा राष्ट्रपति र प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतबाट शुरू गर्ने कर्मकाण्ड चलिरहन्छ । देश र जनताले केही पाउँदैनन् । विमानस्थलमा कस्ले स्वागत ग¥यो र कस्ले बिदाई ग¥यो भनी केलाउने बाहेक केही हुनेछैन । देश र जनताको हितमा छिमेकीबाट जे हासिल गर्न सकिन्छ त्यो लिन सक्ने सामथ्र्य भ्रमणहरूले गर्न सक्नुपर्छ । नत्र, लावालस्कर लगाएर र कर्मकाण्ड पूरा गर्न कुनै देश जानुको औचित्य रहँदैन ।



प्रतिक्रिया दिनुहोस्