Logo

मुलुकको विकास र निकासको लागि चुनाव



“राजनीतिक अस्थिरता ठूलो क्यान्सर हो”

डा. विरेन्द्र प्रसाद महतो, सांसद  : चुनावका सकारात्मक तथा नकारात्मक चूनौतिहरु छन् । हाम्रो देशमा १७ वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन घोषणा भएसँग जनतामा खुशीयाली छाएको छ । जनतामा सकारात्मक आशाहरु पलाएका छन् । निर्वाचन त जनताका लागि आफ्ना जनप्रतिनिधिहरु चयन गर्ने ठूलो अवसर हो ।

निर्वाचन कहिले हुन्छ भनेर जनताहरु आतुर बनेका छन् । निर्वाचन नेताहरुको लागि पनि ठूलो अवसर हो । जनतामा जानको लागि यो भन्दा अर्को ठूलो अवसर हुँदैन् । जनताको बीचमा जान कोही पनि हिच्किचाउनु हुँदैन् । निर्वाचनको विकल्प छैन् ।

७० वर्ष लामो प्रतिक्षापछि नेपाली जनताले संविधानसभाबाट आफूले चुनेका प्रतिनिधिहरुमार्फत नयाँ संविधान जारी भएको छ । यो नेपालको लागि ठूलो उपलब्धि हो । तर यसलाई सबैको अपनत्व बनाउनको लागि जुन रुपमा सबै दलहरुले पहल गर्नुपर्ने थियो, त्यसो हुन सकेन् । यो संविधानले आफ्नो अधिकार सुनिश्चितता नगरेको भन्दै मधेशी मोर्चाले अस्विकार नै गरेको छ । अहिलेसम्म पनि संविधान संशोधनमार्फत मधेशी मोर्चाको माँग पूरा गर्ने काम सरकारले गरेको छैन् । यो सरकार गठनको पूर्व सन्ध्यामा अहिलेको सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग तीन बुँदे सहमति गर्यो । तर, अहिलेसम्मपनि उक्त सहमति कार्यान्वयन हुन सकेको छैन् । सहमति कार्यान्वयन गर्ने विषयमा सरकार लाचार बनेको छ । अहिलेसम्मपनि सहमति कार्यान्वयन गर्ने विषयमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गम्भिर बनेको देखिँदैन् ।

हुन त प्रचण्ड सरकारभन्दा अघिल्लो एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलेपनि मधेशी मोर्चाको माँग पूरा गराउने सन्दर्भमा कुनै गम्भिरता देखाएन् । बरु, उल्टै यसले मधेशी मोर्चासँग दुरी बढाउने काम गर्यो । यो अत्यन्तै दुःखदायी कुरा हो । मधेशी मोर्चाको जायज माँगहरु पूरा गराउने सवालमा प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सबै उदास र गैर जिम्मेवार देखिएका छन् ।

यो संविधान सबैले मेरो हो भन्ने गरि अनुभुत हुनुपर्छ । त्यसैले दलहरुले संविधानलाई लिएर उठेका असन्तुष्ट आवाजहरुलाई सम्बोधन गर्नेगरि गम्भिर पहलकदमी लिनुपर्छ । चुनाव अघि नै परिणाम दिनेगरि दलहरु सम्वादमा बस्नुपर्छ । छलफलमा खरो रुपमा प्रस्तुत हुनुभन्दापनि मुलुक र जनताको विजय हुनेगरि दलहरु गम्भिर हुनु आजको आवश्यकत्ता हो । स्थानीय तहको निर्वाचनमा कोही पनि उग्र बन्नुहुँदैन् । सहमतिको आधारमा अघि बढ्नुपर्छ । समय बलवान हुन्छ । त्यसैले एक कदम अघि बढ्दा दुई कदम पछि हट्नुपर्छ । सरकारलेपनि खाए खा नखाए घिच भन्ने गरि अघि बढ्नुहुँदैन् । मोर्चाका जायज मागहरुलाई समयमै सम्बोधन गरेर गम्भिरतापूर्वक अघि बढ्नुपर्छ ।

संविधान जारी भएसँगै अब मुलुक नयाँ नेपाल बन्छ भन्ने धेरै नेपालीहरुको चाहना थियो । तर त्यो दिशामा मुलुक अघि बढाउनको लागि अहिलेसम्म पनि कुनै आर्थिक समृद्धिको खाका कोरिएको छैन् । चुनाव हुनुपर्छ । तर चुनाव हुनुपर्छ भन्दैमा जबरजस्ती गर्ने कुरा पनि लोकतन्त्रमा शोभनीय छैन् । जबरजस्ती चुनाव गर्नु भनेको मुलुकमा सम्प्रादायिकतालाई प्रोत्साहन गर्नु हो । जातिय विद्धेष फैलाउनु हो । यो मुलुकको हितमा हुँदैन् । त्यसैले यो गम्भिरतालाई सबैले बुझ्नुपर्छ । तराई मधेशलाई उपेक्षा गरेर अघि बढ्दा न मुलुकको भलो हुन्छ, न त जनताको नै । मुलुकको सबैभन्दा बढि जनसंख्या रहेको तराई मधेशलाईपनि विश्वासमा लिएर चुनावमा होमिँदा मुलुकको भलो हुन्छ । यो कुरालाई सरकारमा बस्ने नेतृत्वकर्तालेपनि आत्मसात् गर्नुपर्छ ।

हामीले राजनीतिक परिवर्तन र अधिकारको लडाईको सिलसिलामा लामो समय गुजारिसकेको छौं । अब पनि त्यसमै रुमलिनु भनेको मुलुकलाई आर्थिक उन्नतीको पथमा अघि बढ्नबाट बञ्चित गर्नु हो । २१ औं शताब्दी भनेको एशियाको हो । अब विकासको बारी एशियामा आउनेछ भनेर भनिएको छ । तर, हाम्रो देशमा अहिलेसम्म यसको कुनै पूर्वाधार नै तय भएको छैन् । आर्थिक क्रान्तिको लागि जग हाल्ने काम नै भएको छैन् । जनताहरु अहिलेपनि अधिकार प्राप्तिको लडाईमा मर्न बाध्य भएका छन् ।

अब पनि राजनीति आन्दोलनमा समय खर्चिनु भनेको मुलुकलाई विकासबाट बञ्चित गर्नु हो । हाम्रो देशभन्दा तल र खराब आर्थिक हैसियत भएका विश्वका अन्य धेरै मुलुकहरु अहिले कहाँबाट कहाँ पुगिसकेका छन् ।राजनीतिक अस्थिरता यस्तो ठूलो क्यान्सर हो, जसले विकास भन्ने कुरालाई स्विकार गर्न सक्दैन् । त्यसैले यो क्यान्सरलाई हटाउन जरुरी छ । हिजो अधिकार प्राप्तिकोलागि सँगै लडेका हामी फेरि पनि मिलेर, हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्नुको विकल्प छैन् । अबको दशक हामी सबै मिलेर समृद्धिको दशकको सुरुवात गर्नुपर्छ । अहिले विकासको जग हाल्न सकियो भने, आउने एक दशमा आर्थिक तरँगी पैदा गर्न सकिन्छ । संभव छ । विकास हाम्रै पालामा संभव छ । तर संभव छ भन्दैमा नारामा, भाषणामा मात्रै सिमित राखियो भने संभव फेरि असंभव बन्छ ।

अस्थिरतामा नै अरु बाहृय शक्तिले खेल्ने हो । त्यसैले यो कुुरालाई हामी सबैले बुझ्नुपर्छ । ठूलो ठूलो स्वरमा राष्ट्रवादको भाषण गर्दैमा राष्ट्रिय स्वार्थ पूरा हुने कुरा होईन् । मुलुकको राष्ट्रिय स्वार्थबारे सबै दलको धारणा एकरुपता हुनुपर्छ । राष्ट्रिय स्वार्थ र विदेश नीतिमा विभाजित हुँदा यसले मुलुकलाई हित गर्दैन् । त्यसैले देशको कल्याणको लागि पनि हामी सबै एक भएर साथमा साथ र हातमा हात मिलाएर अघि बढ्नुपर्छ । संविधान संशोधन पारित नभएपनि चुनावमा जान हिचकिचाउनुहुँदैन् । संशोधन पहिले कि चुनाव पहिले भन्ने कुराको बखेडा कसैलेपनि झिक्नुहुँदैन् । मधेशी मोर्चाले उठाएका मागलाई राष्ट्रिय समस्याको रुपमा लिनुपर्छ । मलाई लाग्छ, यसरी सबै दलले सोच्ने हो भने मुलुकको समस्या समाधान हुन धेरै समय लाग्दैन् । बस्, शीर्ष नेताहरुले आफ्नो राजनीतिक हठ “ईगो” लाई दिलबाट उखलेर फाल्नुपर्छ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा उल्लेख भएका चार वटा विषयमध्ये सिमांकनबाहेकका अन्य तीन वटा विषय भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्व पारित भए मोर्चा चुनावमा जानुपर्छ । र, मलाई लाग्छ चुनावमा जाँदा यसले जनताका अधिकार सुनिश्चितता गर्छ ।

चुनाव नभएकै कारण राजनीतिक नेतृत्व र जनतामा ठूलो ग्याप छ । अब यो ग्यापलाई लम्ब्याएर राख्ने काम बन्द गर्नुपर्छ । ढिलैपनि छोरो जन्मिएको छ भनेझैं चुनावको मिति घोषणा भएको छ । निर्वाचन विकासको लागि ठूलो माध्यम हो । निर्वाचन नभएकै कारण अहिले स्थानीय निकाय कर्मचारीतन्त्रले चलाएको छ । जसका कारण विकास निर्माणका कार्य ठप्प भएका छन् । अब त्यो अवरुद्ध विकास निर्माणका कामलाई सूचारु गर्ने अवसर आएको छ । यसलाई सबैले अवसरको रुपमा लिनुपर्छ । आफ्ना एजेण्डा लिएर चुनावमा जानुपर्छ । देशको निकास र विकासको लागि चुनाव ठूलो अवसर हो भन्ने मेरो बुझाई हो । अहिले जनतामा चुनावमा भाग लिनेबारे ठूलो उत्साह छाएको छ ।

नेपालको चुनावलाई लिएर छिमेकी मित्रराष्ट्र भारत र चीनको सद्भाव हुनु राम्रो हो । उहाँहरुको सहयोग र सद्भाव भए हाम्रो लागि राम्रो हो । तर चुनाव हामीले गर्ने हो । भोट नेपाली जनताले हाल्ने हो । त्यसैले उहाँहरुले हाम्रो चुनावलाई लिएर विरोध गर्नुहुन्छ जस्तो मलाई लाग्दैन् । विदेशीले चासो लिने र खेल्ने भनेको हामी कमजोर भएको बेला हो । त्यसैले हामी बलियो हुनुपर्छ ।

नेपाल शान्ति, स्थायित्व र समृद्ध भएमात्रै भारत र चीनकोपनि हित हुन्छ । भारत र चीन दुवै आर्थिक समृद्ध राष्ट्र हुन । विश्वकै उदयीमान अर्थतन्त्र भएका मुलुक हुन् । उहाँहरुको बीचमा नेपाल छ । नेपाल र चीनबाट नेपालले लाभ लिन सक्नुपर्छ । दुई विकसित छिमेकी मुलुकका वीचमा हुनु नेपालको लागि पनि फाईदाको कुरा हो । हामीले उहाँहरुबाट फाइदा लिन सक्नुपर्छ । भारत र चीनसँग नेपालले अब कनेक्टिभीटीमा जोड दिनुपर्छ । लगानी भित्र्याउनको लागि पहल गर्नुपर्छ । जनस्तरको सम्बन्धलाई विकास गर्नुपर्छ । सामाजिक, आर्थिक तथा धार्मिक सद्भावलाई हामीले बढावा दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot