Logo

बाबुरामले भने,‘भारतसँग विशेष सम्बन्ध राखेर जानुको विकल्प छैन’ (भिडियोसहित)



काठमाडौं, ६ बैशाख । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव चिन्ह नदिए स्थानीय तहको निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा उनले भने,‘लोकतन्त्रमा चुनाव चिन्ह दिन्न भन्नु गलत हो, यो त पञ्चायत व्यवस्थामा पनि यस्तो भएको थिएन, दलहरुले त्यतिवेला पनि रोजेका चुनाव चिन्ह पाउँथे, तर अहिले रोकिएको छ, यो सबै प्रधानमन्त्री प्रचण्डको षड्यन्त्र हो।’ उनले प्रचण्डको सरकारको षडयन्त्रको पर्दाफास गर्नुपर्ने समेत बताए ।

प्रधानमन्त्री दाहालसँग निकै रुष्ट बनेका डा. भट्टराईले आक्रोश पोख्दै भने,‘प्रचण्ड–सरकार अहिले भ्रष्टाचारको चगुंलमा फसेको छ, एनसेसलसँग अर्बो रुपैयाँको कमिशन खाएको छ, जताततै कमिशन र माफियातन्त्रमा परेको छ, यो सरकारको मुख्य उधेश्य भनेको नै भ्रष्टाचार गर्नु हो ।’ डा. भट्टराईले आफूले जीवनमा प्रचण्ड सरकारजस्तो भ्रष्ट सरकार नदेखेको समेत जिकिर गरे ।

त्यस्तै उनले प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा गराउन नसक्ने समेत दाबी गरे । उनले भने,‘बाहिर बाहिर उहाँले चुनाव समयमै गर्छौं भनेर झुक्याउने काम गर्नुभएको छ, अब जनता झुक्याउने काम बन्द गर्नुपर्छ, हामी त यो सरकारको विरुद्धमा नयाँ गठबन्धन बनाउँदैछौं, यो गठबन्धनले मुलुकलाई सही दिशा दिलाउँछ।’

त्यस्तै उनले छिट्टै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकता हुने समेत विश्वास दिलाए । भट्टराईले थपे,‘फोरम नेपालसँगको एकताको लागि अन्तिम गृहकार्य भैरहेको छ, हामीबी नाम र नेतृत्वमा कुनै विवाद छैन् ।’

उनले नेपालले भारतसँग विशेष सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘हरेक हिसाबले हामी भारतसँग निकट छौं, धेरै कुराहरु हामीसँग मिल्छ, त्यसैले नेपालको फरेन पोलिसी पनि भारत केन्द्रित नै छ ।’ त्यस्तै उनले नेपाल–चीन द्धिपक्षीय सम्बन्ध पनि उतिकै प्रगाढ रहेको बताउँदै आगामी दिनमा दुई देशवीचको सम्बन्धलाई सुमधर र सन्तुलन बनाएर लैजान सकिए देशले आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्