Logo

प्रचण्डलाई अप्ठ्यारो परे, एमालेले काँध थाप्छ : ज्ञवाली



काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीले काँध थाप्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अहिले सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको जिकिर गर्दै भने,‘हामी अहिले सरकारमा सहभागी हुँदैनौं, तर प्रचण्डजीलाई कुनै बाधा भए बाहिर बसेर हामी उहाँलाई सहयोग गर्छौं ।’ उनले आफ्नो पार्टीको ध्यान पूर्ण रुपमा चुनावमा केन्द्रित रहेको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले चुनाव कुनैपनि हालतमा बैशाख ३१ गते नै हुने बताए । ज्ञवालीले भने,‘कुनैपनि बहानामा चुनावलाई सार्न, टार्न र असफल बनाउने काम भए नेकपा एमाले त्यसको सशक्त विरोधमा उत्रिन्छ, हामीलाई यो कुरा स्विकार्य छैन्।’ उनले प्रधानमन्त्री दाहालले दुई चरणमा चुनाव गर्नेगरि अघि सारेको प्रस्तावलाई आफूहरुले अस्विकार गरिसकेको उल्लेख गर्दै उक्त प्रस्तावको अहिले कुनै अर्थ नरहेको स्पष्ट पारे ।

सचिव ज्ञवालीले मधेशी मोर्चा चुनावमा आउने कुराको ग्यारेन्टी कसले लिने भन्दै प्रश्न समेत तेर्साए । उनले भने,‘अब कुनैपनि बहानाबाजी बनाउनुहुँदैन, सरकारले अब जनतालाई अल्झ्याउने काम बन्द गर्नुपर्छ, दुई चरणमा चुनाव गर्ने भन्ने कुरा पनि जनता अलमलाउने काम हो, यो कुरा स्वयम् जनताले नै ठाडै अस्विकार गरिसके ।’ उनले मधेशी मोर्चाले निर्वाचनको मुखैमा आन्दोलन गर्ने घोषणा गरिसकेकोले अब आन्दोलनमा उत्रिएका पक्षलाई कुरेर निवाचनको मिति तलमाथि गर्न नहुने धारणा राखे ।

त्यस्तै उनले सुरक्षा निकायले निर्वाचनको लागि पूर्ण सुरक्षाको प्रत्याभुति गरिसकेको, निर्वाचन आयोग अघि बढिसकेकोले अब पनि निर्वाचन नहुने हो भने त्यो सरकारको अक्षमताको कारण हुने टिप्पणी गरे ।

उनले माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले स्थानीय तहको निर्वाचन कात्र्तिकमा सार्नुपर्ने माँग गरेको भनेर अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै भने,‘एमालेले चुनाव सार्ने कुराको कल्पना पनि गर्न सक्दैन, यो कुरा जनतालाई सोध्नुहोस्, यो निराधार र भ्रमपूर्ण अभिव्यक्ति हो।’

निर्वाचन आचार संहिता उल्लंघन गरेर सरकारले गैर–बजेटरी रकमानन्तर गरिरहेकोप्रति आफ्नो दलले आजमात्रै संसदीय दलका उपनेता सुवास नेम्बाङ्को नेतृत्वमा निर्वाचन आयोगलाई ध्यानाकार्षण गराएको जनाए ।

त्यस्तै उनले आज भएको ५ मधेशवादी दलहरुवीचको एकताको स्वागत गर्दै आगामी दिनमा नेपाल जनता पार्टी नाम जस्तै देश र जनतो हितमा काम गरेर देखाउन शुभकामना दिए । उनले भने,‘ढिलै भएपनि उहाँहरुले नेपाललाई सम्झिनुभएको छ, हाम्रो शुभकामना छ, पार्टीहरु विभाजित भएर जानुभन्दापनि एकतावद्ध भएर जानु नै राम्रो हो ।’

उनले मोर्चालाई चुनाव बहिष्कार नगर्न सुझाव दिँदै भने,‘चुनावमा सबैले भाग लिनुपर्छ, यदि नलिने हो भने त्यो तपाईहरुकै लागि आत्मघाती हुनेछ।’ उनले मोर्चालाई चुनावमा भाग नलिँदा कस्तो भयो भनेर एकचोटी मोहन बैद्य र रामबहादुर थापाहरुसँग छलफल गर्न आग्रह गरे ।

उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रष्पिर्धा नेपाली काँग्रेससँग भएकोले काँग्रेसबाहेकका दलहरुसँग चुनावी तालमेल हुने बताए । उनले खासगरी चित्रबहादुर केसीको जनमोर्चा र कमल थापाको राप्रपासँग चुनावी तालमेलको बढि संभावना रहेको स्पष्ट पारे । त्यस्तै केही ठाउँमा माओवादी केन्द्रसँगपनि तालमेल हुने उनको भनाई थियो । यद्धपी चुनावी तालमेल राष्ट्रिय रुपमा नभएर स्थानीय गाउँपालिका र नगरपालिकामा मात्रै हुने उनले प्रष्ट्याए ।

पार्टीले स्थानीय सरकारलाई बलियो बनाउनेगरि घोषणापत्र तयार पारेको जानकारी दिँदै सचिव ज्ञवालीले भने,‘स्थानीय सरकार बलियो, सशक्त र साधनस्रोतहरुले भरिपूर्ण बनाउनुपर्छ।’ उनले जनताको घरमा पुग्ने अधिकार कटौति गर्ने कुरामा एमाले सँधै विपक्षमा उभिने विश्वास दिलाए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot