Logo

साना उद्योगको प्रोत्साहन गर्न सरकार तयार : अर्थमन्त्री महरा



१३औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी–२०७४

काठमाडाँै, ७ वैशाख । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले साना उद्योगलाई प्रोत्साहन गर्नका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम् प्रविधि प्रदर्शनी–२०७४ को आज भकुटीमण्डपमा उद्घाटन गर्दै उहाँले साना उद्योगको उत्पादन बनाउनका लागि प्रोत्साहन गर्न सरकार तयार रहेको बताउनुभयो ।

निर्यात बढाउनका लागि साना उद्योगको मुख्य भूमिका महत्वपूर्ण हुन्छ”– उहाँले भन्नुभयो, “त्यसैले साना उद्योगलाई यसपटकको बजेटमा प्रथामिकता राखेका छौँ ।”

उहाँले आन्तरिक उत्पादन बढाएमात्र व्यापार सन्तुलन गर्न सकिने भन्दै स–साना उद्योगबाट आन्तरिक उत्पादन बढाउनु आवश्यक रहेको धारणा राख्नुभयो । अर्थमन्त्री महराले उद्योगलाई आधुनिकीकरण गरेर निर्यातमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले स्थानीय तहको निर्वाचन भए देशको विकास सम्भव भएको भन्दै तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताउनुभयो ।

उहाँले विकास र अनुसन्धानमा बजेट खर्च गर्नुपर्ने उल्लेख गर्दै प्रविधिको उच्चतम प्रयोग गरे दिगो विकास हासिल गर्न सकिने बताउनुभयो ।

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजित महतोले नयाँ प्रविधिको प्रयोग गर्नसके देशको विकासमा चाँडो हुने धारणा राख्नुभयो ।

पाँच दिनसम्म चल्ने मेलामा घरेलु उत्पादनका २१५ कक्ष रहेका छन् जसमध्ये भारत पाकिस्थान, बङ्गलादेश र चीनका ३० कक्ष रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot