काठमाडौं ११ बैशाख । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई प्रहरी प्रधान कार्यालयमा उपस्थित गराइएको छ । सोधपुछका लागि भन्दै डिआइजी सिलवारल उपस्थित गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुई नम्बर गणका एसपी विक्रम चन्दको नेतृत्वमा रहेको चार पाँच जना प्रहरीको टोलीले सोमबार बिहान सिलवाललाई बालकुमारीस्थित सनराइज होमबाट नियन्त्रणमा लिएको हो । ‘तपाईंलाई बयानका लागि बोलाएको छ, जानुपर्यो’ भनेर पुगेका चन्दलाई सिलवालले फर्काउन खोजेका थिए ।
चन्दले जबरजस्ती प्रहरीको गाडीमा चढाउन खोजेपछि सिलवाल आफ्नै गाडीमा आउँछु भनेर निस्किए । सिलवालले बालुवाटारस्थित निवास पुगेर कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता शम्भू थापालाई लिएर प्रहरी हेडक्वार्टर गएका हुन् । वरिष्ठ अधिवक्ता थापाले पनि आफू सिलवालसँगै प्रहरी हेडक्वार्टर गएको बताए ।