Logo

मधेशमा एमाले पहिलो बन्छ : झलनाथ खनाल(पूर्वप्रधानमन्त्री)



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारले अहिले संसदनमा पेश गरेको परिमार्जनसहितको नयाँ संशोधन विद्येयक पहिलेको विद्येयकभन्दापनि झनै राष्ट्रिय हित विपरित रहेको आरोप लगाएका छन् । उनले देश र जनताको हितमा आएको प्रस्तावलाई आफ्नो पार्टीले कुनैपनि हालतमा पारित गर्न नदिने चेतावनी दिएका छन् । नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले नेता खनालसँग गरेको कुराकानीको सम्पादित अंश :

अब स्थानीय तहको निर्वाचन हुने पक्का भयो होईन त ?

निर्वाचन गर्ने कि नगर्ने भन्ने कुरा सत्तारुढ दलको हातमा छ । अझैपनि हामी अन्यौल देख्छौं । निर्वाचनको मिति घोषणा भैसकेको छ । तर सरकारले संविधान संशोधनको हौवा अझैपनि मच्चाउन छोडेको छैन । यसले गर्दा जनतामा अझैपनि अन्यौल सिर्जना भैरहेको छ । तरपनि हामी निर्वाचनको पक्षमा छौं । आम जनता निर्वाचनको पक्षमा दृढ भएर लागेका छन् । देश निर्वाचनको पक्षमा उभिएको छ । हामी त्यसको तयारीमा दृढतापूर्वक लागिरहेका छौं । र, निर्वाचन गराएरै छाड्छौं ।

निर्वाचन अझैपनि हुँदैन कि भनेर शंका गर्दा, यसको प्रमुख दोषी को हो त ?

बिल्कुलै सरकार हो । अरु कुनै दललाई म दोष दिन चाहान्न । मधेशवादी दलहरुलाई पनि दोष दिन चाहन्न । अरु कुनै दललाई पनि म दोष दिन चाहन्न। सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छ । यसलाई सफल बनाउनको लागि मिशनको रुपमा लिनुपर्छ । यतिवेला संविधान कार्यान्वयन गर्नको लागि तीन तहकै निर्वाचन सम्पन्न गर्ने, समयमै सम्पन्न गर्ने, माघ ७ गतेभित्रै सम्पन्न गर्ने दायित्व हो ।

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने भन्दा तपाईहरु किन विपक्षमा उभिनुएको त ?

हामीले अहिलेपनि विपक्षमा उभिएका छैनौं । हामी के मात्रै भनिरहेका छौं भने एक दिनमा निर्वाचन हुनुपर्दथ्यो । बैशाख ३१ मा निर्वाचन हुनुपर्दथ्यो भनिरहेका छौं । अहिलेसम्म त्यही चरण हो । कहिलेकाहीँ हामीले दुई चरणमापनि निर्वाचन गरेका छौं । तर दुई चरणमा निर्वाचन गर्दापनि ७ दिनभन्दा लामो ग्याप कहिल्यै गरिएको छैन् । तपाई इतिहास पल्टाएर हेर्नुहोस् । अरु कुनै कालखण्डमा पनि भएन् । तर अहिले एक महिनाको लागि ग्याप के को लागि ?

मधेशवादी दल र संघीय गठबन्धनको लागि नि ?

आजसम्मको समय किन बर्वाद गरियो त ? मधेशको माँग सम्बोधन गर्नुपर्नेथियो भने आजसम्म सरकारले किन कानमा तेल हालेर बस्यो ? यतिञ्जेलसम्म किन सम्बोधन गरेन ? यतिवेला आएर गर्ने हो ?

तर तपाईहरुले संविधान संशोधन गर्न सहमित चाहनु भएन नि त ?

नेपाल राष्ट्रको हितमा हुने कुरालाई हामी जहिलेपनि समर्थन गर्छौं । नेपाली जनतको हितमा हुने कुरालाई जहिल्यैपनि समर्थन गर्छौं । तर, नेपाल राष्ट्रको अहितमा हुन्छ भने निर्वाचनको दिनमा नै किन नहोस्, हामी त्यसको विरोध गर्छौं । राष्ट्रको हित नै सर्वोपरि कुरा हो । संविधानभन्दापनि ठूलो कुरा, निर्वाचनभन्दापनि ठूलो कुरा, अरु कुनै राजनीतिक दलभन्दापनि ठूलो कुरा, व्यवस्थाभन्दापनि ठूलो कुरा देश हो । यो कुरा बुझिराख्नुहोस् ।

निर्वाचनको माहोल बनिरहँदा र संविधान संशोधन सदनमा पेश भैरहेको बेला एमालेले किन विमति राखेको ?

निर्वाचनको माहोल बनाउने नाममा यो त निर्वाचनको लागि हो नि भनेर देशलाई खण्डन विखण्डन गर्न पाईन्छ ? निर्वाचनको नाममा आघात गर्ने ? राष्ट्रको हितलाइ तलमाथि पार्ने ? निर्वाचनको नाममा होस्, वा जुनसुकै नाम वा बहानामा होस्, यदि राष्ट्रको हितलाई तलमाथि पारिन्छ भने नेकपा एमाले त्यसका विरुद्धमा उभिन्छ । नेपाली जनता त्यसका विरुद्धमा उभिन्छन् ।

अहिले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित छ भन्न खोज्नुभएको हो ?

बिल्कुलै । यो संविधान संशोधनको प्रस्ताव जो छ, पहिला जति प्रकारका गल्ती कमजोरीहरु थिए । त्यसमाथि पनि गल्ती कमजोरीहरु थपेर ल्याईएको छ । यो पूरा एकदमै गलत ढंगको चीज छ । यसलाई हामी मान्दैनौं ।

उसो भए कुन चाहीँ बुँदा अमान्य छ ?

सबैमा । अहिले यहाँनिर यसरी बहस गर्नकोलागि समय पुग्दैन् । सबै बुँदामा, चाहे तपाई नागरितकाको बुँदा भन्नुहोस्, चाहे भाषाको बुँदा भन्नुहोस्, स्थानीय निकायको अधिकारको बुँदा भन्नुहोस् । कुनैपनि बुँदा चित्त बुझ्दो छैनन् ।

सिमांकनको विवाद आयोग बनाएर जाने कुरालाई सकारात्मक रुपमा लिनुभएको होला नि ?

अहिलेको अवस्थामा सिमांकन गर्ने होईन । सिमांकन गर्ने भनेको पहाड र मधेश छुट्याउने नियतको साथ आउने प्रस्तावको पक्षमा नेकपा एमाले छैन् । हामी मान्दैनौं ।

तर राजेन्द्र महतोले झापादेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेश हुनुपर्छ भन्नुभएको छ नि ?

हाम्रो बटमलाईन के हो भने यो देशमा पहाड र मधेशलाई छुट्याउने जुन प्रकारको षडयन्त्र भैरहेको छ । यो प्रायोजित षडयन्त्र हो, यो षडयन्त्रमा केही नेपालीहरुपनि फसिरहेका छन् । तीनीहरुलाई यो षडयन्त्रबाट मुक्त गराउनको लागि नेकपा एमाले निरन्तर प्रयत्नशील छ । भोलिपनि रहनेछ । तर घाम र जुन रहेसम्म हामी तराई र पहाडलाई हामी छुट्याउन दिँदैनौं ।

तर काँग्रेस र माओवादी केन्द्र त यो प्रस्ताव पारित गराउन सक्रिय रुपमा लागिसकेका छन नि?

तपाईले भनेका पार्टीका नेताहरु लाग्न सक्छन् । तर, ती पार्टीका कयौं पार्टीका कार्यकताहरु उनीहरुको विरुद्धमा उभिन्छन् । नेकपा एमाले त्यसको विरुद्धमा उभिन्छन् ।

यो संशोधन प्रस्तावको पक्षमा एमाले नआए, मधेश एमालेमुक्त हुन्छ भनेर घोषणा गर्नुभएको छ नि ?

हामी हेर्दै जाउला । हामी कसैको धाक, धम्कीको आधारमा चल्दैनौं । नेकपा एमाले कञ्चनपुरदेखि झापासम्म र दार्जुलादेखि ताप्लेजुँगसम्म क्रियाशील छ । त्यो क्रियाशील रहन्छ । त्यो निरन्तर रहन्छ । र, सँधै रहन्छ ।

तर मधेशमा तपाईहरुको जनलहर यतिखेर कमजोर छ भन्छन् ?

मधेशमा नेकपा एमाले अहिले निर्वाचन गर्नुहोस्, पहिलो पार्टी हुन्छ । हामी चूनौति दिन्छौं को को आउनुपर्छ प्रतिष्पर्धामा, लाठी लिएर होईन, तरबार लिएर होईन, भाला लिएर होईन, शान्तिपुर्ण ढंगबाट प्रतिष्पर्धामा आउनुहोस् । लोकतान्त्रिक ढंगले प्रतिष्पर्धामा आउनुहोस्, नेकपा एमाले प्रतिष्पर्धा गर्न तयार छ ।

                                                                                                                                                                                     प्रस्तुति : ऋषि धमला 



प्रतिक्रिया दिनुहोस्

Screenshot