Logo

तीनवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो



रत्ननगर (चितवन), १८ वैशाख । शुक्लाफाँटाबाट ल्याइएको थप तीनवटा बाह्रसिङ्गेलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ ।

यसअघि यही वैशाख १५ गते दुईवटा पोथी बाह्रसिङ्गे छाडिएकामा आजसम्म एक भालेसहित थप तीनवटा गरी पाँच वटा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएको पाँचवटा बाह्रसिङ्गेलाई चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पुरानो पदमपुरमा छाडिएको जनाइएको छ ।

बाह्रसिङ्गे नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिक गरी ३० जनाको टोली खटिएको छ ।

सरकारी निर्णयअनुसार वंश संरक्षण र विस्तारका लागि चितवन निकुञ्जमा पाँच भालेसहित २५ वटा बाह्रसिङ्गे ल्याइनेछ । निकुञ्जमा पहिलोपटक यसरी बाह्रसिङ्गे ल्याइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।

निश्चित क्षेत्रमा विशेष प्रकारको जाल (खाबर) बिच्छ्याएर जालमा पारेपछि लठ्याउने औषधि दिएर बाह्रसिङ्गे नियन्त्रणमा लिइन्छ । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल प्रजाति संरक्षणका लागि यसरी स्थानान्तरण गरिएको बताउनुहुन्छ ।

यसअघि चितवनबाट विभिन्न क्षेत्रमा गैँडा स्थानान्तरण गरिएको थियो भने अघिल्लो वर्ष कोसीबाट चितवनमा अर्ना स्थानान्तरण गरिएको छ । निकुञ्जभित्रको पुरानो पदमपुरमा ३० हेक्टर क्षेत्रमा तारबार लगाएर अर्ना राखिएको छ । सोही क्षेत्रमा ल्याएर बाह्रसिङ्गे छाडिएको हो ।

यहाँ नभएका जनावर बाह्रसिङ्गे र अर्ना ल्याइएपछि संरक्षणसँगै पर्यटन विकासमा समेत सहयोग पुग्ने सौराहाका पर्यटन व्यवसायी प्रकाशचन्द्र भट्टराई बताउनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot