काठमाडौं, २० बैशाख । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगका सेमिफाईनल खेलहरु सुरु भएका छन् ।
मंगलबार राति भएको सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३-० ले हराएको छ । रियाल मड्रिडको मैदानमा भएको मड्रिड डर्बीले स्पेनिस ला-लिगाकै खेलको झल्को दिएको थियो ।
यो खेलमा रियाललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे । युरोपियन च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रेन्च क्लव मोनाको र इटालियन क्लब युभेन्टस भिड्ने छन् ।
यसैबीच राति तीन गोल गरेसँगै पोर्चुगिज फुटबल स्टार रोनाल्डोले युरोपको कुनै पनि क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।
रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा ३ सय ६७ गोल गरेका छन् । उनले इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट ८४ तथा रियाल मड्रिडबाट २ सय ८३ गोल गरिसकेका छन् ।
यसअघि युरोपका शीर्ष लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान इङ्लिस खेलाडी जिम्मी ग्रिएभ्सको नाममा रहेको थियो । जिम्मीले सन् १९५७ देखि ७१ सम्म तीन इङ्लिस प्रिमियर लिग र इटालियन लिगमा गरी ३ सय ६६ गोल गरेका थिए ।