Logo

एक अर्ब ७१ करोडमा ४० वटा सडक स्तरोन्नती



नेपालगन्ज,२० बैशाख । एक अर्ब ७१ करोडको लागतमा नेपालगञ्जका ४० वटा सडकहरुको स्तरोन्नती गरिने भएको छ । एसियाली विकास बैङ्कको अनुदान सहयोगमा नगरका ४० वटा सडकहरु स्तरोन्नती हुने भएका हुन् । सडकसँगै नाला समेत निर्माण गरिने भएको छ ।

‘१० दिनभित्रै सडकका लागि ठेक्का गर्ने प्रक्रियामा छौँ’, नेपालगञ्ज उप महानगरपालिकाका इन्जिनियर शैलेन्द्र महर्जनले भने, ‘सडक तथा नाला निर्माणका लागि सडक क्षेत्रफल छाड्नका लागि सूचना समेत जारी गरिसकेका छौँ ।’ उनले नगरका ४० स्थानमा ४३ किलोमिटर बढी सडक तथा नालाहरु निर्माण गर्न लागिएको जानकारी दिए ।

नेपालगन्ज उपमहागनरपालिकाले गत शुक्रवार भित्री सडक तथा ढलहरु निर्धारित मापदण्ड अनुरूप बनाउन सडक तथा नाला, ढल क्षेत्रफलमा बनेको घर तथा भौतिक संरचना हटाउन २१ दिने सूचना जारी गरिसकेको छ । ‘तोकिएको समयमा संरचना नहटाएमा उपमहानगरपालिका आफैले हटाउने छ’, उपमहानगरपालिकाको सूचनामा उल्लेख छ, ‘उपमहानगरपालिकाले संरचना हटाउदा लागेको खर्च समेत सम्बन्धित जग्गा, घरधनीबाटै असुल गरिनेछ ।’ उपमहानगरपालिकाले सडक क्षेत्रफलको चिन्ह समेत लगाइसकेको छ ।

‘टेण्डर स्वीकृत भएसँगै धमाधम निर्माणको काम सुरु हुनेछ’, इन्जिनियर महर्जनले भने, ‘उपमहानगरले तोकेको समयमा जग्गाधनीले आफै संरचना हटाइदिने हो भने काम छिटो सुरु गर्न सकिन्छ ।’ उनले ६ मिटर देखि १६ मिटरसम्मका सडक बनाइने जानकारी दिएका छन् ।

यसअघि एकीकृत सहरी विकास परियोजनाले समेट्न नसकेका क्षेत्रहरुलाई विकास गर्न दोस्रो चरणको अनुदान सहयोग आउन लागेको हो । मुख्यगरी धम्बोझी, घरबारीटोल हुँदै त्रिवेणीमोड, त्रिवेणीमोड–त्रिभुवन चोक हुँदै चारवाहिनी, चारवाहिनी, गणेशमान चोक, भृकुटीनगर हुँदै दोन्दरा नालासम्म सडक तथा नाला निर्माण गरिनेछ ।

सदरलाइन १४ मिटर नेपालगञ्ज उपमहानगरपालिकाले सदरलाइन सडक खण्डका लागि १४ मिटर सडक क्षेत्रफल तोकेको छ । केही घरधनीहरुले घर भत्काए पनि अधिकांशले सडक क्षेत्रफलका सम्बन्धमा उपमहानगरपालिकाले सूचना जारी नगरेको भन्दै सडकका लागि क्षेत्रफल छाड्न आनाकानी गर्दै आएका थिए ।

‘सदरलाइनको सडक १४ मिटरको हो, यसमा आशंका गर्नुपर्दैन’, परियोजना इन्जिनियर महर्जनले भने, ‘ठेक्का प्रक्रिया सकिने बित्तिकै काम सुरु हुनेछ ।’ त्रिवेणीमोडदेखि ताँगा स्टैण्डसम्मको सडक फराकिलो कार्यमा केही समस्या देखिएपछि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको सहयोग लिइएको उपमहानगरपालिकाले जनाएको छ । कारोबार दैनिक



प्रतिक्रिया दिनुहोस्

Screenshot