हेटौँडा, २१ वैशाख । औद्योगिक नगर भनेर चिनिने हेटौँडा उपमहानगरपालिकामा अर्को औद्योगिक क्षेत्र थपिने तयारी भइरहेको छ । हेटौँडा मयूरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले डिपीआर तयार गर्न सुरु गरेको हो ।
हेटौँडा बजारबाट सात किमी दक्षिणमा रहेको साबिक चुरियामाई र पदमपोखरी गाविसको बीचमा पर्ने मयूरधाप क्षेत्रको करिब तीनसय बिगाहा सार्वजनिक जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न प्राविधिक टोलीले सर्भे सुरु गरेको हो । औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गतबर्षको वैशाखमा प्राप्त गरेको जनाइएको छ ।
जार्सा कन्सल्ट्यान्टका प्राविधिक सुदीप कार्कीका अनुसार सर्भेका लागि करिब एक साता लाग्नेछ । तीन दिनदेखि टोलीले हेटौँडाको मयूरधापमा जग्गाको नापजाँचको काम गरिरहेको कार्कीले बताउनुभयो । जग्गाको स्वामित्व, पानी, विद्युत्, टेलिफोन, सडक र औद्योगिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली खटाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार सरकारको यो निर्णयले तीन दशकपछि औद्योगिक क्षेत्रमा परिवर्तनको सुरुवात भएको छ । गत पुसमा सूचना प्रकाशन गरी हेटौँडाको नयाँ औद्योगिक क्षेत्रमा डिपिआर तयार गर्ने बोलपत्र आह्वान गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हालको औद्योगिक क्षेत्रमा उद्योगका लागि जग्गाको माग पूरा गर्न नसकेको अवस्थामा नयाँ औद्योगिक क्षेत्र बन्न लागेको हो । रासस