Logo

विपन्न बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान



कोहलपुर (बाँके), २२ वैशाख । नेपालगन्ज क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत अति विपन्न, मुस्लिम तथा मुक्त कम्लरी बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको छ ।

गरिबीका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सोसल इनोभेसन एन्ड बिजनेस इन्कुवेसन हवले नेपालगन्जमा ४५ जना बालबालिकालाई छात्रवृत्ति वितरण गरेको हो ।

राजधानीमा केन्द्रीय कार्यालय रहेको उक्त हवले बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खड्का र मेगा बैंकका कार्यकारी प्रमूख अनिल शाहद्वारा शाखा कार्यालयको नेपालगन्जमा उद्घाटन गराई निम्नवर्गका बालबालिकालाई सद्भाव छात्रवृत्ति वितरण गरेको हो ।

हिमालयन क्लाइमेट इनसियटिभ संस्थाको स्वयम्सेवक उत्पादन गर्ने लक्ष्यका साथ स्थापना गरिएको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पारस खड्काले आफ्नो देश तथा समाज परिवर्तन गर्नका लागि आफूले केही काम गरेर देखाउनुपर्ने बताउनुभयो । सुरुवात अरूले होइन आफैँबाट गर्नुपर्ने बताउँदै खड्काले आफू सक्षम बन्नका लागि राम्रो वातावरणको सृजना हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा चर्चित बैङ्कर अनिल शाहले समाजका दुईचारजना व्यक्तिले गरेको राम्रोकामको सिको अरूले पनि गर्दै राम्रा कामलाई पछ्याउनुपर्ने धारणा राख्नुभयो । देशमा हुने विभिन्न आपत्विपद्मा परेको बेला स्वतस्फूर्तरुपमा स्वयम्सेवक उत्पादन गर्ने उद्देश्यका साथ नेपालगन्ज क्षेत्रमा आफूहरुले शाखा स्थापना गरेको शाखा प्रमुख सचिन तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०७२ सालको भूकम्पमा स्वयम्सेवकका रुपमा काम गरेको भनेर सरकारले उत्कृष्ट भोलुन्टियर अवार्ड प्रदान गरेको थियो । संस्थाले सन् २०२० सम्म नेपालमा एक लाख स्वयम्सेवक उत्पादन गर्ने लक्ष्य लिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्