Logo

सर्वोच्च अदालतको आदेशलगत्तै प्रचण्ड–देउवाले बोलाए आकस्मिक बैठक, कडा कदम चाल्ने तयारी



काठमाडौं, २२ बैशाख । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश कार्कीलाई आजबाटै काममा फर्किन अन्तरिम आदेश दिएलगत्तै नेपाली राजनीतिमा फेरि अर्को ठूलो भुकम्प गएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रधानन्यायाधीश कार्कीलाई पदमा बहाल गर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चको आदेशसँगै संसदको प्रक्रियामा रहेको महाअभियोग प्रस्ताव के हुन्छ भन्ने अन्यौल बढेको छ । महाअभियोग प्रस्तावका प्रस्ताबक मिन विश्वकर्माले अदालतको आदेशलाई संवैधानिक रिक्तता ल्याउने कदमको संज्ञा दिएका छन् ।

उनले भने,‘ राज्यका हरेक अंगले संविधानको पालना गरेको देखिएन, अब संवैधानिक संकट आयो, मुलुकमा संसद छ भन्ने कुराको अनुभूति नगरेको पाइयो ।’
सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ ।

अदालको आदेश जारी भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय अझै पनि ज्यूँदै रहेको भन्दै आदेशको स्वागत गर्दै सुशिला कार्कीले आंशिक न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

तर प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डले अदालतको उक्त आदेशले परिवर्तन नचाहने शक्तिहरुलाई बल पुगेको भन्दै असन्तुष्टि जनाएका थिए । यही वीचमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा दुवै पार्टीका शीर्ष नेताहरु अब के गर्ने भन्ने तयारीको लागि आन्तरिक छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्