Logo

मतदानको ब्यग्र प्रतिक्षामा म्याग्दीका सर्वसाधारण



बाबियाचौर म्याग्दी, ३० वैशाख । बेनी नगरपालिका–९ नेप्टेचौरका ५६ वर्षीय रुद्रबहादुर चोखाललाई आइतबार हुन लागेको स्थानीय तह निर्वाचन विशेष महत्वको लागेको छ ।

यसअघिको संसदीय र स्थानीय निकायको निर्वाचनको मतदानमा सहभागी हुनुभएका उहाँ स्थानीय तहमा सक्षम र योग्य नेतृत्वको आवश्यकता देख्नुहुन्छ ।

जलजला गाउँपालिका–३ का २७ वर्षीय रवीन जिसी मतदान गर्ने समयको ब्यग्र प्रतिक्षामा हुनुहुन्छ । “बिहीबारनै मतदाता परिचयपत्र ल्याइसके” जिसीले उत्साहित मुद्रामा भन्नुभयो “हाम्रोभन्दा पनि विकासका लागि सक्षम, नीति निर्माणका लागि योग्य र अनुभवी उम्मेदवारले भोट पाउँछन् ।”

धौलागिरि गाउँपालिका सात ताकमका १९ वर्षीय गणेश सुवेदीले आसन्न निर्वाचनमा पहिलो पटक मतदान गर्दै हुनुहन्छ । विकास निर्माणलाई गति दिन र असल नीति नियम बनाउन जनताको समस्यालाई बुझेको उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने सुवेदीको बुझाइ छ ।

चोखाल, जिसी र सुवेदीजस्तै पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीका धेरैजसो मतदाता सक्षम उम्मेदवारको पक्षमा देखिएका छन् । बीस वर्षसम्म स्थानीय निर्वाचन नहुँदा गाउँ बस्तीको विकास नभएको आम सर्वसाधारणको भनाइ छ ।

त्यसैले सबै यो या त्यो दल नभनी विकास गर्न सक्ने उम्मेदवारलाई जिताउन चाहन्छन् । जनप्रतिनिधिको अभावमा करिब डेढ दशकसम्म सुस्ताएको विकास र ओझेलमा परेको जनताको समस्यालाई अब चुनिने जनप्रतिनिधिले समाधान गर्ने बेनपा–६ का तुलबहादुर भण्डारीको अपेक्षा छ ।

“अबका जनप्रतिनिधि जनताको तीव्र विकासको आकांक्षाको नेतृत्वकर्ता, सुशासनको पहरेदार र नीति निर्माता पनि हुन्” भण्डारीले भन्नुभयो “भोट पाएर केन्द्रमा जाने चुनाव यो होइन ।” मतदाताले स्थानीय तहको चुनावलाई संसदीयभन्दा बढी महत्व दिएका छन् । अधिकार सम्पन्न स्थानीय तहको नेतृत्वमा सक्षम, इमान्दार, योग्य व्यक्ति पुग्नुपर्छ भन्ने आम सर्वसाधारणको बुझाइ तथा धारणा छ ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा उम्मेदवारले विकास, संवृद्धि र सुशासनको विषयलाई चुनावी मुद्दा बनाएका छन् । स्थानीय प्राकृतिक र मानवीय स्रोत पहिचान तथा परिचालन गरेर पूर्वाधार विकास गरी गाउँ नगरलाई सम्बृद्ध बनाउने उम्मेदवारले मतदातालाई आश्वासन बाँडेका छन् । केन्द्रीयस्तरमा आफू सम्बद्ध पार्टीले तयार पारेको घोषणापत्रसँगै मतदाता रिझाउन स्थानीय मुद्दालाई प्राथमिकता दिएका हुन् ।

सडक नपुगेको ठाउँमा सडक पु¥याउने, निर्माण भएका सडकलाई स्तरवृद्धि गर्ने, सामुदायिक भवन, घरघरमा खानेपानी, विद्युत्, सञ्चार सुविधाको व्यवस्था मिलाउने उम्मेदवारले भोट माग्दा मतदातालाई दिने साझा आश्वासन बनेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot