Logo

२० वर्षपछिको मिठो फलको पर्खाईमा जनता



ऋषि धमला : काठमाडौं, ३० बैशाख। । भोलि अर्थात बैशाख ३१ गते २८३ स्थानमा स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । नेपालमा झण्डै दुई दशकपछि यो निर्वाचन हुन गैरहेको छ । लाखौंलाख मतदाताहरु आफ्ना प्रतिनिधि चयन गर्ने व्यग्र प्रतिक्षामा छन् । देशव्यापी रुपमा निर्वाचनको पक्षमा माहोल बनिरहेका सन्देशहरु एक महिना अघिदेखि नै प्रकाशित तथा प्रसारित भएको सवैलाई थाहा छ ।

नेपाली जनताले संविधानसभाबाट जारी गरिएको नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुसारको स्थानीय तहमा आफना जनप्रतिनिधि चुन्ने यो सुर्वण अवसर हो । वास्तवमा यो निर्वाचनमा उल्लेखनीय जनसहभागिता देखिएको छ । देशभरि निर्वाचको उल्लासमय वातावरण छाएको छ । साँच्चै भन्ने हो भने हामी सम्पूर्ण नेपालीहरुको लागि यो एउटा महाअभियान नै हो । यद्धपी भोलि हुने चुनाव पहिलो चरणको मात्रै चुनाव हो । सरकारले विभिन्न कारणले गर्दा दुई चरणमा निर्वाचन गर्ने भनेर बैशाख ३१ र जेठ ३१ गतेगरि दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै आयोगले यो छोटो समयमा नै भोलि हुने पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी गरेको हो । आयोगले आजमात्रै पनि निर्वाचन आयोग परिसरमा प्रेस सेन्टरमा विशेष पत्रकार सम्मेलन आयोजना गरेर भोलिको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

भोलि प्रदेश नं ३, प्रदेश नम्बार ४ र प्रदेश नम्बर ६ मा एकैसाथ विहान ५ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन हुन गैरहेको छ । स्थानीय तहको निर्वाचन भनेको पहिलो पटक सिंहदरबारको अधिकार गाउँसम्म पुग्नुपनि हो । यो निर्वाचन यसर्थपनि जनताको लागि निकै महत्वपूर्ण छ । निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड हो । निर्वाचन विना लोकतन्त्र फस्टाउन सक्दैन् । त्यसैले यो चुनावले देशको राजनीतिक इतिहासमा ठूलो महत्व राख्दछ ।  भोलि ३४ जिल्लाका २८३ स्थानीय नगरपालिका तथा गाउँपालिकामा प्रथमपटक हुने भएकाले जनतामा वेग्लै उत्साह छाएको छ ।

लामो समयको जनसंघर्षबाट पहिलो पटक संविधानसभाबाट नयाँ संविधान जारी भएपछि अब नेपालमा आर्थिक समृद्धिको जग हालिने विश्वास लिएका थियौं । त्यही अनुसार अहिलेको नयाँ संविधानले स्थानीय तहलाई स्थानीय सरकारको रुपमा धेरै अधिकार दिएकाले पनि अव गठन हुने स्थानीय तहका जनप्रतिनिधि यस अघिका चुनावबाट आएका जनप्रतिनिधिजस्तो अधिकारविहिन र निरीह हुनेछैनन् । स्थानीय सरकारले अब जनताका आवश्यकत्ता पूरा गर्ने विश्वास लिईएको छ । हुन त वर्षौंदेखि आफ्ना प्रतिनिधि चयन गर्नबाट बञ्चित भएका जनताहरु भोलि विहान कतिखेर ७ बज्छ भनेर व्यग्र प्रतिक्षामा छन् ।

निर्वाचनमा देखिएको जनताको उत्साह, दलहरुको व्यापक सहभागिता, युवा पुस्ताको व्यापक र दरिलो सहभागिता, महिला तथा दलितको व्यापक प्रतिनिधित्व हुनपाउने अवस्थाले यो निर्वाचनले देशको मृुहार फेर्नसक्ने देखिन्छ । नयाँ संविधानद्वारा प्रदत्त अधिकारलाई जनताको घरदैलोमा पु¥याउन यो निर्वाचनले खेल्ने भूमिका अविष्मरणीय रहनेछ । त्यसैले गर्दा दुई दशकपछि हुन गैरहेको यो निर्वाचनलाई हामी सबैले अवसरको रुपमा लिनुपर्छ । म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई यो महान अवसरमा आफ्नो मताधिकारको सही सदुपयोग गर्नको लागि हार्दिक अपिल गर्दछु ।



प्रतिक्रिया दिनुहोस्