Logo

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी



काठमाडौं, ३१ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

अंक तालिकाको चौथो स्थानमा पर्न संघर्षरत आर्सनलले स्टोक सिटीलाई ४-१ ले हरायो । आर्सनललाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गर्दा मेसुत ओजिल र अलेक्सिस सान्चेजले एक–एक गोल गरे ।

शनिबार राति भएको अर्को खेलमा म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई २-१ ले हरायो । रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ३६ खेलबाट ७२ अंक जोड्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।

समान खेलबाट ७० अंक जोडेको लिभरपुल चौथो स्थानमा छ भने पाँचौ स्थानको आर्सनलको ६९ अंक छ ।एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेडको ६५ अंक छ । यी चारवटा टोलीहरुमध्ये दुई टोली अर्को सिजनको च्याम्पियन्स लिग छनौटमा पुग्नेछन् ।

प्रिमियर लिगमा गएराति सन्डरल्याण्डलाई २-० ले हराउँदै स्वान्सी सिटीले रेलिगेसनबाट जोगिने सम्भावना बलियो पारेको छ ।रातिको जितसँगै स्वान्सी सिटी तालिकाको १७ औं स्थानमा उक्लिएको छ । ३७ खेलबाट उसको ३८ अंक छ । एक खेल बढी खेलेको हल सिटीको ३४ अंक छ ।

मिडिल्सब्रो र सण्डरल्याण्ड भने प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरीसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्