(विशेष प्रतिनिधि शीतलप्रसाद महतो) : क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको तेस्रो दिन आज श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डी आइपुग्नुभएको छ ।
कोलम्बोबाट सिधै राष्ट्रपति भण्डारी श्रीलङ्काको कोलम्बो हेलिप्याडबाट श्रीलङ्काली वायुसेनाको हेलिकप्टरबाट क्यान्डीमा अपराह्न आइपुग्नुभएको हो ।
राष्ट्रपति भण्डारीलाई त्यहाँको श्रीलङ्का केन्द्रीय प्रान्तका मुख्यमन्त्री सरथ एकनायके तथा केन्द्रीय प्रान्तका गभर्नर निलुका एकनायके लगायतका श्रीलङ्का सरकारका उच्च पदाधिकारीले असगिरीया पुलिस कम्पाउन्ड, क्यान्डीमा स्वागत गर्नुभएको थियो । त्यहाँबाट उहाँ आफूलाई आतिथ्य प्रदान गरिएको माहावली रिच होटलमा जानुभयो ।
त्यसपछि राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नका साथै त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गर्नुभयो ।
राष्ट्रपति भण्डारी बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्न पुग्दा श्रीलङ्काका न्याय तथा वुद्ध शासनमन्त्री डा विजेयदासा राजपाक्षेलगायत स्थानीय तथा सम्बन्धित क्षेत्रको व्यवस्थापनले भव्य स्वागत तथा सम्मान गरेका थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई मुख्य गुरुले उपहार प्रदान गर्नुभयो । भ्रमणपछि राष्ट्रपति भण्डारी आज साँझ बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ ।
वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलम्बोमा सुरु भएको सो तीनदिने सम्मेलनको समापन आज श्रीलङ्काको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ ।
सन् २००० देखि राष्ट्र सङ्घले बुद्ध जयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यान्मालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलङ्काले तीन दिनसम्म यस सम्बन्धी विशेष सम्मेलन आयोजना गरेको छ ।
सो अवसरमा राष्ट्रपतिको भ्रमणदलमा रहनुभएका सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिला विज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको उपस्थिति थियो । रासस