Logo

दोस्रो चरणको चुनाव कार्यक्रम आजदेखि सुरु



काठमाडौं ६ जेठ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको कार्यक्रम शनिबारदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउँदै दोस्रो चरणको निर्वाचनको कार्यतालिका कार्यान्वयनमा ल्याउन लागेको हो ।
दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ गरी चार प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ । चार प्रदेशमा हुने निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा निर्वाचन हुन लागेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो, ‘‘शनिबारदेखि ४३ स्थानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा आउनेछन् र जेठ १५ बाट निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा आउनेछन् । ’’

रुकुम र नवलपरासी जिल्लामा पहिलो चरणमा नियुक्त गरिएका मुख्य निर्वाचन अधिकृतलाई नै दोस्रो चरणका लागि पनि कायम राखिएको छ । पहिलो चरणमा ३४ जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा ४३ जिल्लामा निर्वाचन हुँदैछ ।

निर्वाचन सञ्चालन हेर्नुहुने उपसचिव देशबन्धु अधिकारीका अनुसार दोस्रो चरणमा रुकुममा तीन गाउँपालिका र नवलपरासीमा तीन नगरपालिका र चार गाउँपालिकामा निर्वाचन हुनेछ । नवलपरासीमा तीन नगरपालिकाको ३८४ पदका लागि निर्वाचन हुँदैछ भने रुकुममा तीन गाउँपालिकाका लागि १६१ पदका लागि निर्वाचन हुनेछ । दोस्रो चरणमा नवलपरासीम एक लाख ८३ हजार १३ मतदाता छन् भने १२० मतदान स्थलमा २४० मतदान केन्द्रमा मतदान गराउने तयारी आयोगले गरेको छ । यस्तै रुकुममा २४ हजार ४८१ मतदाताले ३१ मतदान स्थलको ३८ मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

निर्वाचन अधिकृतहरूले जेठ १५ गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीहरूको तालिम सञ्चालन गर्नेछन् । यस निर्वाचनमा १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ वटा गाउँपालिकामा निर्वाचन हुन लागेको हो ।

निर्वाचन कार्यक्रमअनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । यस निर्वाचनमा ९० लाख ९७ हजार ५५७ जना मतदाताले मताधिकार प्रयोग गर्नेछन् । दोस्रो चरणको निर्वाचनमा ११ हजार ९३१ वटा मतदान केन्द्रमा मतदान गर्ने आयोगको तयारी रहेको छ ।

संशोधनसहितको व्यवस्थाप
निर्वाचन आयुक्त सुधीरकुमार शाहले पहिलो चरणको स्थानीय तहको निर्वाचनका कमीकमजोरी हटाई दोस्रो चरणको निर्वाचनका लागि संशोधनसहितको सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारी भइसकेको बताउनुभयोे । उहाँले पहिलो चरणको निर्वाचन र मतगणनामा देखिएको कमीकमजोरी र समस्यालाई दोस्रो चरणको निर्वाचनमा दोहोरिन नदिने अठोट पनि व्यक्त गर्नुभयो ।
स्थानीय तहको निर्वाचनले लोकतन्त्र र गणतन्त्रको जगलाई स्थापित गरेको उहाँले बताउनुभयो । आगामी सङ्घीय र प्रादेशिक निर्वाचनपछि गणतन्त्रले पूर्ण स्थायित्व प्राप्त गरी संविधान कार्यान्वयनको चक्रसमेत पूरा हुने उल्लेख गर्नुहुँदै आयुक्त शाहले भन्नुभयो, ‘‘पहिलो चरणको निर्वाचन सम्पन्न भएकोप्रति आयोग एकदमै सन्तुष्ट छ, निर्वाचनपछि मुलुकले शान्ति, राजनीतिक स्थिरता, विकास र समृद्धिको ढोका खुल्नेछ, सम्पूर्ण मतदाता, राजनीतिक दल र सरोकारवालाप्रति आभार व्यक्त गर्दछ । ’’
अब रातो मसीको स्वस्तिक
निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मत सङ्केतका लागि रातो रङको मसी प्रयोग गर्ने भएको छ । पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मतसङ्केत गरेकामा त्यसका कारण पनि मत बदर भएको गुनासो आएको थियो । त्यसै आधारमा आयोगले मसी फेर्ने निर्णय गरेको हो ।
आयोगका सचिव गोपीनाथ मैनालीले दोस्रो चरणमा मतदाताले रातो रङको स्वस्तिक छाप लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले दोस्रो चरणमा सुरक्षा रणनीति, मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने बताउनुभयो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको स्ट्याप मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot