Logo

संसद भवनमा देउवा र ओलीवीच चर्काचर्की, देउवा यसरी कड्किए



काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक एकपछि अर्का गर्दै सरेको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १३ बजे हुँदै अपराह्न १५ बजेका लागि सरेको थियो ।

संसद बैठक सूचारु गर्नको लागि प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुको अहिले बैठक जारी छ । सरकारले हिजो स्थानीय तहको संख्या वृद्धि गरेलगत्तै त्यसको विरोधमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद चल्न नदिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गरेर राजिनामा दिने कुरा अन्यौलमा परेको छ ।

यद्धपी प्रधानमन्त्री दाहालले पटक पटक फोन गरेर संसद बैठकमा आउनको लागि एमाले अध्यक्ष ओलीलाई आग्रह गरेपछि ओली अबेर व्यवस्थापिका–संसदमा आईपुगेका छन् ।

संसद भवन परिसरमा जारी तीन शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीचको बैठकमा ओलीविरुद्ध देउवा निकै आक्रमक रुपमा प्रस्तुत भएका छन् । देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘ओलीजी तपाई जहिलेपनि किन यसरी मुलुकलाई बन्धक बनाउनुहुन्छ, बैठकमा आउनुहुन्न, प्रचण्डजीले राजिनामा दिने भन्नुभएको छ, के हो पारा यार ?’

ओलीविरुद्ध देउवा यसरी कड्किने वित्तिकै ओलीले पनि रुखो जवाफ फर्काए,‘मैले तपाईलाई प्रधानमन्त्री बनाउनको लागि संसद बैठक खोलिदिनुपर्ने हो ? के को हतारो हो तपाईलाई चाहीँ ?’ अहिले पनि तीन तोहरुवीचको बैठक जारी रहेको छ।

प्रमुख दलबीच संसद् चलाउने विषयमा सहमति हुन नसकेपछि संसद् सचिवालयले एकपछि अर्को गर्दै बैठक सरेको छ । सचिवालयले पुनः १७ः०० अगाडि सूचना प्रकाशित गर्दै बैठक सरेको जानकारी दिएको छ ।

संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बर्खे अधिवेशनका रुपमा सोमबारदेखि सुरु भएको बैठकको आजको कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेे भन्ने रहेको छ ।

स्थानीय तहको सङ्ख्या वृद्धिको विषयमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गर्ने जनाएको छ । दलहरुबीच सहमति जुटाएर संसद् सञ्चालन गर्ने विषयमा संसद् भवन नयाँबानेश्वरमा दलहरुबीच छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot