Logo

कहिले खुल्छ तातोपानी नाका ?



काठमाडौं १० जेठ । चीनसँग वार्षिक २० अर्बभन्दा बढीको आयात र ३ अर्बजतिको निर्यात हुने प्रमुख नाका तातोपानी बन्द भएको दुई वर्ष कटिसकेको छ । भूकम्प र पहिरोले अवरुद्ध भएसँगै बन्द रहेको यो नाका कहिले खुल्छ भन्ने जवाफ न नेपालसँग छ, न चीनका अधिकारीले नै औपचारिक रूपमा दिन सकेका छन् । दुवै पक्षले ‘ऐतिहासिक सम्बन्ध बोकेको नाका बन्द भइरहनु हुन्न’ त भनिरहेका छन् तर खुलाउने सुरसार भने छैन ।

कूटनीतिक उच्चस्रोतका अनुसार खासामा नयाँ र व्यवस्थित बस्ती बसेपछि मात्र उक्त नाका खुलाउने चिनियाँ पक्षको तयारी छ । त्यस्तो बस्ती खासामा कहिले र कसरी बस्छ भन्ने कसैलाई थाहा छैन । तिब्बत सरकारका तर्फबाट खासालाई पुन:संरचना गर्ने र नयाँ ढंगले बसोबास गराउने प्रस्ताव एक वर्षअघि नै गरेको हो । उक्त प्रस्तवअनुसार बस्ती व्यवस्थित भएपछि मात्र नाका खुल्ने परराष्ट्र अधिकारीले अनौपचारिक जानकारी पाएको बताए ।

२०७२ असोजमा संविधान जारी भएपछि तराई आन्दोलनको निहुँ झिकेर संविधानप्रति असन्तुष्ट छिमेकी भारतले लगाएको ५ महिने अघोषित नाकाबन्दीले मुलुक निकै असजिलोमा पर्दा पनि चीनले उक्त नाका खुलाउन पहल गरेन । बरु रसुवाको केरुङ नाकालाई उपयोगमा ल्याउने रणनीति लियो । चीनको ध्यान रसुवा–केरुङको प्रचारमै केन्द्रित रह्यो ।

मध्यमवर्गीय नेपालीका लागि खाद्यान्न र इन्धनबाहेक सबै खाले उपभोग्य वस्तु चीनबाटै आयात हुँदै आएको छ । त्यो आयातको मुख्य बिन्दु नै तातोपानी नाका थियो । तर भूकम्पपछि पहाड नै कमजोर रहेको भन्दै पूर्ण रूपमा नाका बन्द राख्नुलाई चिनियाँ मित्रभावको ‘अर्को’ रूपमा व्याख्या हुन थालेको छ । उक्त नाका नखुल्दा हजारौं कामदार र व्यवसायी पेसाबाट विमुख भएको जानकारी चीनलाई छ ।

तातोपानी नाकाबाट व्यापार गर्नेहरूको लगानी डुबेको मात्र छैन, धेरैजसो विस्थापित नै भएका छन् । व्यवसायी, पर्यटक र कामदारले सधैं व्यस्त रहने उक्त नाकामा अहिले सन्नाटा छ । त्यो भेगको विकास मोडेल नै परिवर्तन भएको छ । चीनले तिब्बतको खासा बजारको भौतिक संरचना खलबलिएको भन्दै व्यावसायिक कारोबार मात्र होइन, एकतर्फी रूपमा मितेरी पुलबाट हुने सर्वसाधारणको आवतजावतसमेत रोकिरहेको छ । उक्त नाका पूर्ण रूपमा बन्द हुँदा पनि चीनले चासो नदेखाएको भन्दै परराष्ट्र अधिकारीहरू भन्छन्, ‘चीनले खोल्दैनौं पनि भन्दैन । तर खोल्दा पनि खोल्दैन । उनीहरूले के गर्न खोजेका हुन्, बुझ्नै सकिएन । नाका खोल्न किन ढिलाइ भएको भन्नेमा समेत उनीहरू भौगोलिक कारण मात्र देखाउँछन्,’ ती अधिकारीले भने ।

दुई वर्षयता बन्द नाका खोल्ने वा नखोल्नेबारे चीनले अहिलेसम्म कुनै औपचारिक जानकारी दिएको छैन । अघिल्ला प्रधानमन्त्री केपी ओलीदेखि वर्तमान प्रधानमन्त्री पुष्पमकल दाहालको चीन भ्रमणमा समेत नाका खोल्ने बताएको चीनले त्यसपछि भने चासो देखाएको छैन । चैतमा बेइजिङ र तिब्बत पुग्दा दाहालले नाका खोल्ने विषय राखेको र उनीहरूले अध्ययनमा रहेको, छिट्टै सुचारु हुने बताएका थिए ।

‘छिट्टै खोल्छौं । यहाँहरूका साथै हाम्रा नागरिकको पनि आग्रह छ । नाका नखोल्ने भन्ने नै होइन,’ ल्हासाका लागि नेपाली महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै कान्तिपुरसँग भने, ‘यो नाकासँग हाम्रो ऐतिहासिक सम्बन्ध जोडिएको छ । यसलाई नखोली कहाँ हुन्छ ? खोल्छौं । विभिन्न अध्ययनका प्रतिवेदनहरू आइरहेको र आउने क्रममा छ । खासाको भूगोलको अवस्था राम्रो आओस् भन्ने हाम्रो प्रार्थना छ ।’ उनीहरूले भौगोलिक अवस्था नै जटिल र कमजोर आधार भन्दै उक्त नाकाबन्द गरेको र अब छिट्टै खोल्ने जानकारी दिएको कार्कीले बताए ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्