Logo

को हुन चिरीबाबु ? जितेपछि यसो भने



काठमाडौं १० जेठ । ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका चिरिबाबु महर्जन र गीता सत्याल निर्वाचित भएका छन् । एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३६५ मतको झिनो अन्तरले पछि पार्दै महर्जन निर्वाचित भएका हुन् । उनले २४,६६६ मत प्राप्त गरे भने व्यञ्जनकारले २४,३०१ मत पाए ।

उपमेयरमा विजयी सत्यालले भने निकटतम प्रतिस्पर्धी साझा पार्टीकी शोभा शाक्यलाई ४,८०३ मतान्तरले पराजित गरिन् । उनले १९,२३६ र शाक्यले १४,४३३ मत पाइन् । निर्वाचन भएको नौ दिनपछि बुधबार बिहान १ः३० बजे मतगणना सकिएको छ । नवनिर्वाचित मेयर महर्जनले जनताले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने बताए ।

जनताले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्छु : चिरिबाबु

-ललितपुर महानगरपालिकाको पहिलो मेयर बन्ने सौभाग्य पाएका चिरिबाबु महर्जनको १६ मंसिर ०१४ मा ललितपुरको पुल्चोकमा जन्मिएका हुन् ।

-त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उनी ललितपुरका जनताबीच लोकप्रिय मानिन्छन् । उनले यसअघि ललितपुर नगर र उपमहानगरमा तीनपटक वडा अध्यक्षमा चुनाव जितेका थिए ।

-महानगरको प्रमुखमा निर्वाचित गरेर जनताले काँधमा राखिदिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने महर्जनले बताए । नयाँ पत्रिकासँग कुरा गर्दै उनले महानगरपालिकाभित्र बढ्दै गएको भ्रष्टाचार नियन्त्रण, नगरवासीलाई सेवा प्रवाह गर्ने काममा हुने ढिलासुस्ती अन्त्य गरेर सुशासन कायम गर्ने प्रतिबद्धता जनाए ।

-महानगरभित्र समस्या बन्दै गएको धुलो, धुँवाको प्रदूषण न्यूनीकरण, भूकम्पले भत्काएका ऐतिहासिक, सांस्कृतिक सम्पदा पुनर्निर्माणलगायतका काम उनको प्राथमिकतामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot