Logo

के गर्छन् मेयरका श्रीमान् ?



महानगरपालिका मेयरमा लडेका दुई महिला रेणु दाहाल र रञ्जु दर्शनाको फैसला हुन बाँकी छ । तर, ९२ नगरपालिकामध्ये चारवटामा भने महिला मेयर निर्वाचित भइसकेका छन् । जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका सेजुवाल, स्याङ्जाको पुतलीबजार नगरपालिकामा सीमा क्षेत्री, नवलपरासीको कावासोती नगरपालिकामा चन्द्रा पुन र चितवनको राप्ती नगरपालिकामा प्रभा बराल मेयर बनेका छन् । यी चारै महिला मेयरका संघर्षका कथा फरक छन् । कान्तिका एकल महिला हुन् । उनका श्रीमान्को दुई वर्षअघि जहाज दुर्घटनामा मृत्यु भएको थियो । चन्द्रा भने अविवाहित महिला हुन्, जीवनमा एक्लै संघर्ष गर्दै आएकी । सीमा र प्रभाका साथमा भने श्रीमान् छन् । के गर्छन् महिला मेयरका श्रीमान् ? घरको काम र राजनीतिमा श्रीमान्को भूमिका कस्तो छ ? नयाँ पत्रिकाकी सरला कट्टेलले फिचर तयार पारेकी छिन्ः

श्रीमती प्रभा बराल मेयरमा विजयी भएपछि दंग छन्, श्रीमान् हरि पौडेल । यो अवसरमा उनले सम्झिए, प्रभासँग जनवादी विवाह गर्दाको क्षण । ‘हामी दुवै एमाले राजनीतिमा सक्रिय थियौँ, एक–अर्कालाई सहयोग हुन्छ भनेर नै विहेका लागि राजी भयौँ, जहाँ पार्टीले भूमिका खेल्यो,’ उनले सुनाए ।

फागुनमा बिहे गरेको यो जोडी निरन्तर राजनीतिमै रह्यो । जीवन निर्वाहका लागि कृषि र सहकारी व्यवसायमा पनि सक्रिय रह्यो । चुनावको मुखमा उनीहरूले पार्टीसमक्ष राखेको माग रोचक छ । हरिले थपे, ‘एउटा मेयर र अर्को उपमेयरमा उठ्न पाउनुपर्छ भन्ने हाम्रो माग थियो । तर, पछि पार्टी र घरपरिवारको सल्लाहअनुसार प्रभालाई मेयरमा उठाउने सहमति भयो ।’

दुवै राजनीतिमा सक्रिय रहँदा घरको समय कसरी मिलाउने ? यो साँच्चै जटिल पाटो हो । प्रभा र हरिको जोडीले पनि यो समस्या भोग्नुप¥यो । तर, समस्या तोडेर नै अगाडि बढे । जसको प्रतिफल वर्षाैँपछि प्राप्त भयो, प्रभा मेयरको जिम्मेवारीमा पुगिन् । हरि पार्टीको चितवन जिल्ला कमिटी सदस्य छन् ।

श्रीमान् हरि पौडेलका साथमा चितवनको राप्ती नगरपालिकाकी मेयर प्रभा बराल

ती दिनदेखि यी दिनसम्म राजनीति र घरको जिम्मेवारी कसरी मिलायो यो जोडीले ? प्रभाको राजनीतिमा हरिको भूमिका कस्तो रह्यो ? ‘मेरो मामाघर कास्की हो, अनि प्रभाको घर मेरै मामाघरनजिक । चिनाजानी सानैदेखि थियो । एक–अर्कालाई राजनीतिमा सहयोग गर्ने वाचा गरेर नै बिहे भएको थियो । त्यसैले घरमा दुवैले उत्तिकै काम ग¥यौँ । मैले कहिल्यै प्रभालाई गृहिणीको रूपमा मात्रै हेरिनँ । जसलाई समय मिल्थ्यो, उसैले घर हेथ्र्यौं । काममा भागवण्डा कहिल्यै भएन,’ हरिले सुनाउँदै गए, ‘छोरी एक वर्षकी भएपछि प्रभा पार्टीको काममा बाहिर निस्किन थालिन् । पछि छोरो जन्मिँदा पनि उस्तै अवस्था हो ।’

श्रीमान्को इमानदारीलाई कदर गर्दै मेयर प्रभाले थपिन्, ‘श्रीमान् र श्रीमती सफल हुन दुवैको उत्तिकै साथ आवश्यक पर्छ । मैले श्रीमान्को साथ सधैँ पाएँ । विवाहपछि उहाँकै सहयोगमा सक्रिय भएर काम गरेँ । उहाँले श्रीमतीभन्दा पनि साथीको हैसियतमा मेरो सम्पूर्ण काममा विश्वास गर्नुभयो । पेटमा र काखमा बच्चा हुँदा निरन्तर पार्टीमै खटिएँ, तर श्रीमान्कै मनोबलका कारण कहिल्यै मानसिक तनाव खेप्नुपरेन । मेरो सफलतामा मुख्य देन उहाँकै छ ।’

हरि र प्रभा दुवैलाई क्रान्तिकारी स्कुलिङमा हुर्किने मौका मिल्यो । दुवैका परिवारमा राजनीतिक चेतना बलियो थियो । हरिले आफ्नो राजनीतिक यात्रा सुनाए, ‘०३५ को विद्यार्थी आन्दोलनमा मालेबाट सक्रिय राजनीतिमा लागेँ । ०४६ को पञ्चायतविरोधी आन्दोलनमा गण्डकी अञ्चलको कमान्डर नै बनेँ । अहिले पार्टी जिल्ला कमिटी सदस्यबाहेक सामाजिक सेवामा पनि सक्रिय छु । कृषि र सहकारीमा काम गरिरहेको छु । साना किसान कृषि सहकारी संस्था चितवनको संस्थापक अध्यक्ष, चितवन जिल्ला सहकारी संघको उपाध्यक्ष, जिल्ला कृषि संघको अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघको बोर्ड सदस्यका रूपमा काम गरिरहेको छु ।’

राजनीतिक यात्रा प्रभाको पनि छोटो छैन । ‘मेरा बुबा (टेकनाथ बराल) कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । पुष्पलाल श्रेष्ठको कमिटीमै बसेर काम गर्नुभएको थियो । ०३७ मा शासकले उहाँलाई देश निकाला गरे । भारतको वनारसमा पुष्पलालसँग बसेर पञ्चायतविरोधी आन्दोलनमा सक्रिय हुनुभयो । त्योवेला म सात वर्षकी मात्रै थिएँ । प्रहरीहरू घरमा आएर कुटपिट गर्थे, दुःख दिन्थे । ती घटनाले मलाई विद्रोही बनाएको थियो,’ उनले यात्राबारे सुनाउँदै गइन्, ‘०४२ मा अनेरास्ववियुको संगठित सदस्य भएर काम गरेँ । पञ्चायतविरोधी आन्दोलमा कास्कीबाटै सहभागी भएँ । ०४६ साल फागुन १ गते भएको आन्दोलनको कास्कीमा नेतृत्व गरेँ । त्यही क्रममा प्रहरीले पक्राउ ग¥यो र हिरासतमा राख्यो ।’

हरि र प्रभाको परिवार अहिले चितवनको वीरेन्द्रनगरमा बस्छ । प्रभा मेयर बनेपछि जिम्मेवारी र व्यस्तता झनै बढ्दै छ । तर, हरिले घरको कामका कारण प्रभालाई आफ्नो जिम्मेवारीमा कमजोर हुन नदिने वाचा गरेका छन् । श्रीमान्को पूर्ण साथ पाएकी प्रभा भन्छिन्, ‘राप्ती नगरपालिकामा थुप्रै चुनौती छन् । चेपाङ, महिला र सुकुम्बासी बढी छन् । तिनका बालबच्चा स्कुल जान पाएका छैनन् । कतिपय विकट बस्तीमा बत्ती पुगेको छैन, पानीको अभाव छ । यी सबै समस्यालाई सल्ट्याउने मेरो प्रयास रहनेछ ।’

०००
स्याङ्जाको पुतलीबजार नगरपालिकाकी मेयर सीमा क्षेत्रीको पारिवारिक अवस्था केही भिन्न छ । उनीहरू झनै क्रान्तिकारी, अन्तरजातीय बिहे गरेका । उनका श्रीमान् हुन्, टेकबहादुर भुजेल । ‘०४३ मा हामीले अन्तरजातीय जनवादी विवाह गरेका हौँ,’ टेकबहादुरले प्रेम कहानी सुनाए, ‘उनीसँग ०३९ मा पहिलो भेट भएको थियो । त्यतिखेर कक्षा ६ मा मैले उनलाई ट्युसन पढाएँ । ०३६ बाटै म शिक्षक आन्दोलनमा थिएँ भने सीमा स्कुले जीवनबाटै अनेरास्ववियुमा थिइन् । पछि भूमिगत भएर काम गर्ने क्रममा हामीबीच प्रेम सम्बन्ध रह्यो र पार्टीलाई जानकारी गराएर घरपरिवारकै सल्लाहमा बिहे गर्‍यौँ ।’

श्रीमान् टेकबहादुर भुजेलका साथमा स्याङ्जाको पुतलीबजार नगरपालिकाकी मेयर सीमा क्षेत्री

सीमा अहिले एमालेबाट उम्मेदवारी दिएर नगरपालिकाको मेयर भइन्, टेकबहादुर भने राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य छन् । सुरुमा दुवै शिक्षण पेसामा थिए । सीमा २५ वर्षे शिक्षण पेसामा माध्यमिक विद्यालयको हेडमास्टरसम्म भइन् । ‘शिक्षण पेसामा रहँदै नेपाल राष्ट्रिय शिक्षक संघको केन्द्रीय कोषाध्यक्ष भएँ । अहिले पार्टीमा प्रदेश नं. ४ को सदस्य छु । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य पनि छु,’ सीमाले सुनाइन् । टेकबहादुर भने अहिले पनि शिक्षण पेसामै सक्रिय छन् ।

वैवाहिक र राजनीतिक जीवनमा सीमाले खेलेको भूमिकाबाट टेकबहादुर खुसी छन् । उमेरले आफूभन्दा केही कान्छी सीमालाई उनले सम्हाल्दै–सम्हाल्दै यहाँसम्म ल्याए । यो कुरा सीमा पनि स्विकार्छिन् । ‘महिलालाई राजनीतिमा हिँड्न निकै गाह्रो थियो । अझ भूमिगत कालको कुरा बेग्लै थियो । मान्छेहरू अनेक आरोप लगाउँथे, तर उहाँले सधैँ सम्मान र सहयोग गर्नुभयो,’ श्रीमान्को प्रशंसामा सीमा बोलिन्, ‘उहाँले सधैँ पछाडि बसेर मलाई हरेक काममा हौसला दिनुभयो ।’

टेकबहादुरले पनि सीमाको स्वभावको प्रशंसा गरे, ‘मैले सीमाको क्षमता सानैदेखि बुझेको थिएँ । उनमा भएको क्षमता मार्नुहुन्न भनेर हौसला दिइरहेँ । साथीको स्थानमा राखेँ । पार्टीको काममा केही दिनसम्म घरबाहिर रहँदा पनि प्रश्न गरिनँ । सीमा केका लागि संघर्ष गर्दै छिन् भन्ने थाहा थियो । आज उनैले पुष्टि गरेर देखाइन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot