Logo

राजपा नेपाल निर्वाचनमा नजाने



काठमाडौं १३ जेठ ।
पहिलो चरणको स्थानीय तह निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने भएको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गर्दै राजपा नेपालका नेताहरूले सरकारले आफ्ना माग पूरा नगरेकाले निर्वाचनमा भाग लिने अवस्था नरहेको बताए । उसले अविलम्ब आफ्ना माग पूरा गरी निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सरकारलाई आग्रह भने गरेको छ । तर, आजै उसले निर्वाचन कार्यक्रममा अवरोध पु¥याउन आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा राजपा नेपालको नेतृत्वमा रहेको संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले सरकारले वार्ताका नाममा आफूहरूलाई झुलाउने काम मात्र गरेकाले बाध्य भएर आन्दोलनमा जानु परेको बताए । संसदमा रहेका ६ वटा राष्ट्रिय पार्टीहरू मिलेर बनेको राजपा नेपाललगायत निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाईसमेत दर्ता प्रक्रिया, निर्वाचन चिन्ह प्रदान गर्ने विषयमा विभिन्न किसिमका कानुनी अडचन देखाई आफूहरूको सहभागिता निधेष गर्ने कार्य कायमै रहेको उनले बताए ।

हालै सरकारले थप गरेका स्थानीय तहको संख्या (२२ वटा) अपुग एवम् सीमांकन अवैज्ञानिक र समझदारीविपरीत भएको पनि संयोजक ठाकुरले जिकिर गरे । उनले मतदाता नामावलीमा छुटेका योग्य मतदाताहरूको नाम समावेश नभएको भन्दै अविलम्ब आफ्ना माग पूरा गरी निर्वाचनको वातावरण बनाउन सरकारलार्य आग्रह गरेका छन् ।

निर्वाचन कार्यक्रम बिथोल्ने गरी घोषणा गरिएका आन्दोलन कार्यक्रममा मसाल जुलुस, लाठी जुलुस प्रदर्शन, सबै मतदान केन्द्रमा संघर्ष समिति गठन, आफ्ना मुद्दाका विषयमा नागरिक समाज, उद्योगी–व्यापारी, विभिन्न पेशाकर्मीसँग अन्तरक्रिया, प्रत्येक नगरपालिका, गाउँपालिकाका निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ तथा आमहड्ताल छन् । नयाँपत्रिकामा खबर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot