Logo

सम्पत्ति हडप्‍न बृद्ध दम्पत्तीको हत्या



काठमाडौं १३ जेठ ।
कैलालीको धनगढी नगर क्षेत्रमै घरसम्पत्ति कब्जा गर्ने उद्देश्यले सुनियोजित रुपमा बृद्ध दम्पत्तीको हत्या भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्वर ७ देवरीयास्थित छात्राबास टोलमा जेठ ७ गते बेलुकी ७२ वर्षीय बद्री प्रसाद जोशी र उनकी श्रीमती ६५ बर्षीया कुन्तीदेवी जोशीको हत्या भएको थियो । दुबै जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो । दुई जना अभियुक्त सार्वजनिक गर्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले घरमा कोही नभएको मौका छोपेर बृद्ध दम्पतिको घर जग्गा हडप्नका लागि हत्या गरेको बुझिएको कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले बताउनु भयो ।

‘६ महिना अघिदेखिको योजना देखिएको छ’ उहाँले भन्नुभयो । प्रहरीले बझाङको मौलाली ८ ओलीगाउँ घर भई हाल भारतको बेंगलोरमा बस्दै आएकी लक्ष्म बटाला र उनका भाई नाता पर्ने नरेश भण्डारीको योजनामा बृद्ध दम्पत्तीको हत्या भएको जनाएको छ । ‘भारतमा काम गर्ने लक्ष्मी ओलीले, नरेशलाई घरजग्गा खोज्नका लागि ८ लाख पठाएको देखिन्छ । नरेशले, उक्त रकम बृद्धबृद्धालाई दिइ फकाएर सम्पत्ति फुत्काउने दाउ रचेको देखिएको छ’ एसपी चन्दले भन्नुभयो । बृद्ध दम्पत्तिका एक मात्र छोरा स्पेनमा बैदेशिक रोजगारीमा छन भने दुई छोरी पनि विदेश छन। धनगढीमा रहेका दुई छोरी मध्ये जेठीसँग बृद्धबृद्धाको बोलचाल नभएको मौका छोपेर सम्पत्ति हडप्ने दाउमा हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले सोही घरमा बसिरहेकी लक्ष्मी ओलीकी विवाहित छोरी पुजा बटालालाई पक्राउ गरेको छ । पुजाले, आमा लक्ष्मी, मामा नरेश र भारतबाट आएका बझाङकै ओलीगाउँ घर भई भारतको बेंगलोरमै बस्दै आएका राजा ओली र हरिष ओलीले बृद्धबृद्धाको हत्या गरेको प्रहरीलाई बयान दिएकी छिन ।
शुक्रबार गरिएको पत्रकार सम्मेलनमा पनि पुजाले, हत्यामा आफ्नो संलग्नता नभएपनि चारै जनाले रड, चक्कुले हत्या गरेको देखेको पत्रकार सामु पनि बताएकी छिन । ‘हत्यामा मुख्य आरोपीहरु फरार छन, प्रहरीले खोजविन गरिरहेको छ’ एसपी चन्दले भन्नुभयो । प्रहरीले कुकुरको प्रयोग गर्दै पोलीग्राफ मेसिनको प्रयोगबाट पनि पुजाको हत्यामा संलग्नता रहेको बताएको छ ।

बृद्धबृद्धाको हत्या गरेर, उनकै घरको एक कोठामा ताला लगाएर राखिएको अवस्थामा प्रहरीले जेठ ८ गते विहान ९ बजे शव फेला पारेको थियो । बृद्धबृद्धाको मुखमा नचिनिने गरी खुकुरीले घोपेको छ । हत्यामा संलग्नहरुले उक्त घर आफुले किनेको र बेलुकी केही आफन्तलाई बोलाएको पनि प्रहरीले जनाएको छ ।
बृद्धबृद्धाको हत्या गरेर कोठामा ताला लगाएपछि, लक्ष्मी, नरेश, पुजा सहितका पाँच जनाले घरमा आएका आफन्तहरुलाई पनि खसी काटेर भोज खुवाएको प्रहरीले जनाएको छ । पुजा बटालाका ससुरा कलक बटालाले खसी किनेर ल्याएकाले उनलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । पुजा र कलक बटालालाई सात दिनको म्याद थपेर कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले, हत्यामा संलग्न राजा ओली र हरिश ओली भारतमा पनि हत्यामा संलग्न रहेको थाहा भएको जनाएको छ । प्रहरीले, बृद्धबृद्धाको हत्या गरेर नेपाली कागजमा अंगुठा लगाएर बकसपत्र बनाइ सम्पत्ती हडप्ने योजना अनुसार हत्या गरेको निष्कर्ष निकालेको छ
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot