Logo

चाँगुनारायणमा कांग्रेस र एमाले तीनतीन वडामा विजयी. मेयर उपमेयरमा एमाले अगाडि



काठमाडौं १५ जेठ ।स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाको चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस र एमालेले तीनतीन वटा वडा जितेका छन्।
आइतबारसम्म आएका ६ वटा वडाको मत परिणामअनुसार कांग्रेसले १, २ र ५ तथा एमालेले ३, ४ र ६ वडामा अध्यक्ष जितेका हुन्।
आइतबार सकिएको मत गणनाअनुसार वडा नं ५ मा कांग्रेसले वडा अध्यक्षसहित चार पदमा जीत निकालेको छ। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार जयेन्द्र खड्काले एक हजार ६ सय ४८ मत ल्याएर जीत हात पार्नुभएको हो। उहाँका प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले एक हजार दुई सय ८३ मत ल्याउनुभएको छ।

उक्त वडामा कांग्रेसका महिलातर्फ राधिका खड्का, दलित महिलातर्फ रामकुमारी विक र खुला सदस्यमा राजी गिरी निर्वाचित हुनुभएको छ। त्यस्तै एक खुला सदस्यमा भने नेमकिपाका रोशन खत्री निर्वाचित हुनुभएको छ।
यस वडामा कांग्रेसले वडा अध्यक्ष जितेर आफ्नो इतिहासलाई कायमै राख्न सफल भएको छ। २०५४ सालको स्थानीय निर्वाचनमा साविक छालिङमा कांग्रेसले गाविस अध्यक्ष जितेको थियो।

त्यस्तै आइतबार नै आएको मत परिणामअनुसार चाँगुनारायण नपा ६ वडामा एमालेले वडा अध्यक्षसहित प्यानलै जितेको छ। एमालेका सन्तबहादुर तामाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुर तामाङलाई ४५ मतले हराउनुभएको हो। निर्वाचित सन्तबहादुरले नौसय ७१ मत ल्याउँदा धनबहादुरले नौ सय २६ मत पाउनुभएको हो। उक्त वडामा एमालेको तर्फबाट महिला सदस्यमा इन्द्रमाया तामाङ, दलित महिला सदस्यमा अञ्जु विक र खुला दुई सदस्यमा सुरेन्द्र मुनंकर्मी र धनबहादुर लामा विजयी भएका हुन्।

मेयर उपमेयरमा एमाले अगाडि
पछिल्लो मत गणनाअनुसार एमालेका मेयर उम्मेदवार सोमप्रसाद मिश्रले अग्रता लिनुभएको छ। उहाँले पाँच हजार दुई सय ९७ मत पाउनुभएको छ।
त्यस्तै नेपाली कांग्रेसका राजाराम खड्काले पाँच हजार २० मत ल्याएर मिश्रलाई पछ्याइरहनुभएको छ।
मेयरमा नेपाल मजदुर किसान पार्टीका न्हुछेभक्त फोजूले दुई हजार नौ सय ८१ र राप्रपाका रवीन्द्रप्रताप शाहले दुई हजार आठ सय ८७ मत पाउनुभएको छ।
उपमेयरमा पनि एमालेका वीणा बाँस्तोला अग्रस्थानमा हुनुहुन्छ। उहाँले पाँच हजार पाँच सय ५७ मत ल्याउँदा उहाँलाई पछ्याइरहनुभएका कांग्रेसका सरु बानियाँले पाँच हजार चार सय १२ मत ल्याउनुभएको।



प्रतिक्रिया दिनुहोस्

Screenshot