Logo

चुनाव फेरि सर्दै, मौसमविद्सँग परामर्सलिए प्रचण्डले



काठमाडौं १७ जेठ ।
सरकारले दोस्रो चरणको निर्वाचन फेरि केही दिन सार्ने भएको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिने बताइएको छ । बालुवाटार स्रोतले मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै असार १४ गते चुनाव सार्ने तयारी गरिएको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिति सार्नेबारे निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार परामर्श गरेका थिए ।

‘मुस्लिम समुदायको चाडका कारण निर्वाचन केही दिनलाई सार्ने कुरा भएको छ, बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय लिनेछ,’ गृहमन्त्री विमलेन्द्र निधिले भने । जेठ ३१ मा घोषित दोस्रो चरणको निर्वाचनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार ९ मा सारेको थियो । मुस्लिम समुदायका केही अगुवाहरूले मंगलबार प्रधानमन्त्री दाहाललाई भेटी रमजान पर्व १३ गते सकिने भएकाले त्यसपछि चुनाव राख्न आग्रह गरेका थिए । उक्त भेटघाटमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँगको परामर्शमा आवश्यक निर्णय लिइने बताएका थिए ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले रमजानलाई मध्यनजर गर्दै सरकारले दोस्रो चरणको मिति केही दिन पर सार्ने विषयमा आयोगसँग परामर्श लिएको बताए । ‘मुस्लिम समुदायको पवित्र चाड परेकाले मिति सार्ने विषयमा हामीले सकारात्मक जवाफ दिएका छौं,’ उनले भने, ‘मिति तोक्ने विषय सरकारले निर्णय लिने कुरा हो ।’ प्रधानमन्त्रीले मागेको परामर्शमा सकारात्मक परामर्श दिइएको जानकारी आयोगले विज्ञप्तिमार्फत दिएको छ । ‘राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र रमजानसमेतलाई सम्बोधन गर्न दोस्रो चरणको निर्वाचन मिति केही पर सार्ने विषयमा प्रधानमन्त्रीज्यूले परामर्श माग्नुभएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

बालुवाटारमा भएको प्रधानमन्त्री–आयोग पदाधिकारी भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिसमेत उपस्थित थिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका अन्य आयुक्तहरू सहभागी थिए ।

‘राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले जेठ ३१ लाई असार ९ पुर्‍याइएको थियो,’ गृहमन्त्री निधिले भने, ‘राजपालाई चुनावमा आउन आवश्यक कानुनी र प्राविधिक प्रक्रिया मिलाउनसमेत थप समय मिलेको छ ।’ चुनाव सार्ने विषयमा सरकारले मौसमविद्सँग पनि परामर्श लिएको छ । ‘मौसमका हिसाबले असार ९ वा १४ गते गर्नुले कुनै तात्त्विक भिन्नता नरहने मौसमविदको सुझाव छ,’ बालुवाटार स्रोतले भन्यो ।

७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर १, २, ५ र ७ का ४६१ गाउँपालिका/नगरपालिकामा निर्वाचन बाँकी छ । प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा पहिलो चरणमा वैशाख ३१ मा निर्वाचन सम्पन्न भएर भरतपुर महानगरपालिकाबाहेक सबैको परिणाम आइसकेको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot