Logo

यस्तो छ धुर्मुस दम्पतीले नमुना बस्ती



काठमाडौं २३ जेठ । हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)ले नमुना नेपाल बनाउने महत्वाकाङ्क्षी योजनाको घोषणा गर्नुभएको छ । धुर्मुस सुन्तली फाउन्डेसनबाट काभ्रेपलाञ्चोकको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितका लागि एकीकृत र महोत्तरीका मुसहरका लागि एकीकृत नमुना बस्ती बनाएर चर्चा कमाएको यो जोडीले सबै नेपालीलाई भावनात्मक रूपमा एकतामा जोड्ने उद्देश्यले करिब पाँच अर्ब रुपियाँ लागतमा नमुना नेपालको अवधारणा ल्याएको हो ।
अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल भन्ने नारासहित हिमाल पहाड तराईको झल्को आउने गरी एकीकृत बस्ती विकास गर्ने अवधारणा सोमबार काठमाडौँमा एक कार्यक्रम गरी उहाँहरूले सार्वजनिक गर्नुभएको हो ।

कलाकार दम्पतीले प्रस्तुत गर्नुभएको अवधारणाअनुसार सरकारले काठमाडौंँ उपत्यका वरपरको क्षेत्रमा पाँच सयदेखि एक हजार रोपनीसम्मको जग्गा उपलब्ध गराएमा त्यहाँ नेपालको हिमाल पहाड र तराईको, कला संस्कृति, जातजाति, धर्मिक आस्था झल्कने गरी मिनी नेपाल बनाइनेछ । मिनी नेपालमा हिमाल, पहाड र तराई क्षेत्रका बासिन्दाका लागि एकै प्रकारको घर निर्माण गरिने छ भने घरभित्रका विभिन्न जातजातिका धर्म, कला संस्कृति र रहनसहन आआफ्नै किसिमको हुनेछ । बस्तीमा नेपाल हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियन धर्मावलम्बीका प्रमुख धार्मिक स्थलका प्रतीकको निर्माण गर्ने योजना पनि छ ।

त्यस्तो बस्तीमा एक क्षेत्रबाट अर्का क्षेत्रमा पुग्न सुरुङ मार्ग निर्माण र नमुना रेल चलाइने छ । सम्पूर्ण बस्तीलाई एकै स्थानबाट अवलोकन गर्न धरहराको प्रतीक बनाएर भ्यू टावर निर्माण गर्ने परिकल्पना धुर्मुस सुन्तलीले गर्नु भएको छ । त्यस्तै, बस्तीमा सम्पूर्ण नेपालको कला संस्कृति झल्कने सङ्ग्रहालय, सार्वजनिक विद्यालय तथा नेपाल र नेपालीको बारेमा अनुसन्धान गर्न चाहनेका लागि अनुसन्धान केन्द्र पनि रहनेछ । बस्तीमा हिमाल, पहाड र तराईका विभिन्न किसिमबाट पीडितलाई उपलब्ध गराइने बताइएको छ ।
यस्तो बस्ती सरकारलाई सहयोग र थप बलियो बनाउने सोच भएको कलाकार कट्टेलले बताउनुभयो । यस्तो बस्ती निर्माण गर्न सकिएमा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य स्थल बन्ने, मुलुकको अर्थतन्त्रमा थप सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बस्ती विकासका लागि करिब पाँच अर्ब रुपियाँ लाग्ने प्रारम्भिक अनुमान छ । सरकारले जग्गा सहयोग गरेमा उक्त रकम आफूहरूले जोहो गर्न सक्ने दाबी पनि कलाकार दम्पतीको छ । विदेशमा बस्दै आएका प्रतिव्यक्ति नेपालीले दुई हजार रुपियाँको दरले सहयोग गरे पनि उक्त रकम जुट्न सक्ने उहाँको भनाइ छ । बस्तीका लागि स्वदेश तथा विदेशमा बस्ने नेपालीबाटै सहयोग जुटाइने कट्टेलले बताउनुभयो । कट्टेल दम्पतीले यसअघि गरेका परियोजनाका लागि जम्मा भएर बाँकी रहेको दुई करोड १३ लाख रुपियाँ पनि यसै आयोजनामा लगाउने बताउनुभएको छ ।

सरकारका उच्च पदस्थ कर्मचारी, पूर्व प्रशासक, कलाकारहरू, बैङ्करको उपस्थिति रहेको अवधारणा सार्वजनिक कार्यक्रममा उहाँको प्रयासमा सहयोग गर्नलाई मुक्तिनाथ बैङ्कका प्रमुख कार्यकारी अधिकृतल भरत ढकालले १० लाख रुपियाँ र अल्का अस्पतालका अध्यक्ष कुमार थापाले २५ लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलाकार जोडीलाई सद्भावनादूत बनाएको सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत चन्द्र टण्डनले धुर्मुस सुन्तली फाउन्डेसले गरेका सकारात्मक काम र विद्युत् प्रधिकरणका प्रमुख कुलमान घिसिङले थालेको अभियानले स्वदेश र विदेशमा बस्ने नेपालीहरूले अभिव्यक्त गर्दै आएको नैराश्यमा कमी आएको र केही सकारात्मक सोच विकास हुन थालेको चर्चा गर्नुृभयो ।



प्रतिक्रिया दिनुहोस्