Logo

विराटनगरमा एमालेका मेयर उम्मेदवार ढकाल



cpn-uml-1

काठमाडौं २८ जेठ । एमालेले विराटनगर महानगरपालिकामा विनोद ढकाललाई मेयरको उम्मेदवार बनाएको छ । पार्टी जिल्ला कमिटी अध्यक्षसमेत रहेका ढकाललाई प्रदेश कमिटीमा सिफारिस भएका मध्येबाट मेयरका लागि चयन गरेको हो । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले जानकारी दिनुभएको छ ।

केपी शर्मा ओली पक्षधर मानिने ढकाललाई विराटनगर महानगरको ‘हेभिवेट’ उम्मेदवारको रुपमा हेरिएको छ । ढकालसँगै पूर्वजिल्ला अध्यक्ष महेश रेग्मीलगायतको नाम पनि प्रदेश कमिटीमा मेयरका लागि सिफारिस भएको थियो । तर, भर्खरै बनेको महानगरमा ढकाललाई दह्रो उम्मेदवारको रुपमा एमालेले खडा गरेको हो ।
विराटनगर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रले भोगेन्द्र यादवलाई मेयर र नमिता न्यौपानेलाई उपमेयरमा उठाउने निर्णय गरेको छ । सबैभन्दा पहिले मेयर तथा उपमेयरको उम्मेदवार छानेर माओवादी चुनावी प्रचार अभियानमा अन्य दलभन्दा अगाडि देखिएको छ । उपमेयरकी उम्मेदवार न्यौपानेले भन्नुभयो, ‘उम्मेदवार चयन भएसँगै हामीलाई प्रचार अभियानमा लाग्न पनि सहज भयो ।’ माओवादीले मोरङ १७ मध्ये धेरै स्थानीय तहका उम्मेदवार चयन गरिसकेको छ ।

एमालेले विराटनगरको उपमेयरको उम्मेदवार नाम चयन गरेको छैन । यो पदमा अन्य दलसँग गठबन्धन हुने सम्भावनालाई जीवित राख्दै अहिल्यै घोषणा नगरेको बताइएको छ । मोरङमा नेकपा एमालेले सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका र बुढीगंगा गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ । बाँकी गाउँपालिका र नगरपालिकामा उम्मेदवारको टुंगो लगाइसकेको छ ।
कांग्रेसले विराटनगर महानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन बाँकी छ । मेयरको दौडमा सांसद अमृत अर्याल, पार्टीका नगरसभापति भीम पराजुली, महिला संघ पूर्वअध्यक्ष डा. डिला संग्रौला र महासमिति सदस्य विश्वनाथ रिजाल हुनुहुन्छ । कांग्रेसले विराटनगरको वडामा पनि उम्मेदवार चयन गर्न बाँकी छ । कांग्रेस जिल्ला सभापति सहमति भएका नाम र सहमति हुन बाँकीको विवरण बोकेर काठमाडौं जानुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot