Logo

देउवाको भारत र चीन भ्रमण कहिले ?



काठमाडौं ३ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भारतीय राजदूत मन्जिभसिंह पुरी र चिनियाँ राजदूत यु होङले सिंहदरबारमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । देउवा प्रधानमन्त्री भएपछि तत्काल शुभकामना दिन निवास पुगे पनि उनीहरूको यो पहिलो औपचारिक शिष्टाचार भेट थियो । प्रधानमन्त्रीसँग भेटका क्रममा दुवै राजदूतले आ–आफ्नो मुलुकको औपचारिक भ्रमणबारे छलफल गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।

प्रधानमन्त्री र राजदूत पुरीबीच पछिल्लो राजनीतिक अवस्था, निर्वाचन, तराईको समस्या र विकास प्रक्रियालगायतमा छलफल भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले यसअघि नै दिइसकेको दिल्ली यात्राको निमन्त्रणाबारे छलफल भएको परराष्ट्र अधिकारीले जनाएका छन् । प्रधानमन्त्री देउवा दोस्रो चरणको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार गरेलगत्तै भारत जान सक्ने बताइएको छ ।

चिनियाँ राजदूत युले पनि भेटमा देउवासँग चीन भ्रमणबारे कुराकानी गरेकी थिइन् । देउवालाई चिनियाँ प्रधानमन्त्री लि खछ्याङले चीन भ्रमणको निम्ता गरिसकेको जानकारी दिँदै त्यसको समय मिलाउने विषयमा छलफल भएको थियो । भारत भ्रमणपछि देउवाले चीन भ्रमण गर्न सक्ने बताएको छ ।

देउवाको चीन भ्रमणमा दुई देशबीच यसअघि भएका सम्झौता अघि बढाउन त्यसको प्रोटोकल तय गर्नेदेखि विभिन्न विषयमा तहगत संरचनात्मक छलफल हुनेसमेत बताइएको छ । नेपाल र चीनबीच रोकिएका दुईपक्षीय संयन्त्र बैठक अघि बढाउने, तातोपानी नाका खुलाउने, विकासमा लगानी गर्ने, रिङरोड निर्माण कार्यलाई तीव्रता दिनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot