Logo

दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता आज, १५,०३८ जनप्रतिनिधि छानिने



काठमाडौं ४ असार । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आइतबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सबै गाउँपालिका र नगरपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जनाएको छ । मनोनयन दर्तासँगै दोस्रो चरणको चुनावी कार्यक्रम सुरु हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले सुरक्षाकर्मीले शान्ति सुरक्षा कायम गर्ने कुरामा आयोग विश्वस्त रहेको बताए । ‘उम्मेदवारी दर्ता सहज, सरल एवं सुरक्षित ढंगले गर्न आवश्यक सुरक्षा र भौतिक व्यवस्था मिलाउन आवश्यक निर्देशन दिइसकिएको छ,’ पत्रकार सम्मेलनमा उनले भने ‘उम्मेदवारी मनोनयनमा अवरोध गर्ने, भडकाउनेजस्ता क्रियाकलापलाई सुरक्षाकर्मीले निरुत्साहित गर्नेछन् ।’ तराईका जिल्लामा राष्ट्रिय जनता पार्टीबाट र पहाडी जिल्लामा विप्लव नेतृत्वको नेकपा माओवादीलाई सुरक्षा निकायले सुरक्षा चुनौतिका रुपमा लिएका छन् ।

सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारेपछि तीनवटा प्रदेशमा असार १४ गते निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि बिना चुनावमा भाग लिन नसक्ने भन्दै आमहडताललगायतका आन्दोलन थालेपछि सरकारले प्रदेश नम्बर २ का ८ जिल्लाका स्थानीय तहको निर्वाचन सारेको हो । सरकारकै आग्रहमा आयोगले दोस्रो चरणका लागि असार २ गतेलाई तोकिएको उम्मेदवारी मनोनयनको कार्यक्रमलाई दुई दिन सारेको हो ।
आयोगका अनुसार दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ । ती स्थानमा १५ हजार ३८ जनप्रतिनिधी चुनिने छन् । ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताले मतदानमा भाग लिन पाउनेछन् । कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र छन् । र, सुरक्षाकर्मी बाहेक निर्वाचन सञ्चालनका लागि ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।

प्रदेश नम्बर १ मा एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिका सहित १ सय ९ स्थानीय तह छन् । प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित कुल ८८ स्थानीय तह छन् ।



प्रतिक्रिया दिनुहोस्