Logo

सूचना आदानप्रदानका लागि चिठी बोक्दै प्रहरी



काठमाडौं ४ असार । अहिले पनि चिठीबाटै सूचना आदानप्रदान गरिन्छ भन्दा अचम्म लाग्न सक्छ । अझ सुरक्षामा खटिने प्रहरी नै चिठी ओसारपसार गर्छन् भन्दा झनै अपत्यारिलो लाग्न सक्छ ।

तर, यो बाजुराको वास्तविकता हो । स्थानीय तहको निर्वाचनका क्रममा सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न प्रहरीलाई नै ओहोरदोहोर गराइएको छ ।पाँच गाउँपालिका र चार नगरपालिका रहेको बाजुरामा ७० मतदानस्थल र ९२ मदतान केन्द्र तोकिएको छ । भौगोलिक कठिनाइका कारण सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न कठिन हुने भएपछि सूचना सम्पर्कका लागि चिठी बोकेर प्रहरीलाई कुदाउने गरेको छ ।

जिल्लाका पूर्वी उत्तर क्षेत्रका मतदान केन्द्रमा नेपाल टेलिकम र अन्य कुनै पनि दूरसञ्चार कम्पनीको सेवा सञ्चालनमा छैन ।‘सञ्चार सेवा नभएका ठाउँमा जानकारी दिन प्रहरी परिचालन गरेर दुवै केन्द्र बीचसम्म जाने र त्यसपछि चिठी दिएर खबर आदानप्रदान गर्ने प्रबन्ध गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने ।

अन्य विकल्प नभएपछि प्रहरीलाई नै परिचालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।भौगोलिक रूपमा विकट हिमाली गाउँपालिकामा तीनवटा मतदान केन्द्र, गैमुलका दुई केन्द्रमा सञ्चार सेवा उपलब्ध नभएका कारण समस्या हुने देखिएको छ ।

जिल्ला सदरमुकाम मार्तडीबाट ५/६ दिनको पैदल दूरीमा रहेका मतदान केन्द्रहरूमा सुरक्षा निकायका प्रतिनिधि र अन्य कर्मचारी खटाई सकिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए । निर्वाचन बिथोल्ने दलहरूको गतिविधि शून्य भए पनि निर्वाचन प्रचारका क्रममा समस्या आउन सक्ने भएकाले त्यही अनुसारको तयारी गरिएको प्रजिअ लामिछानेले बताए ।

सुरक्षा संवेदनशील भएका ठाउँमा जिल्ला बाहिरबाट समेत थप सुरक्षाकर्मी खटाइएको उनको भनाइ छ । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot