Logo

प्रदेश नम्बर पाँचका जिल्लामा राजपाको तारो, सयौं कार्यकर्ता पक्राउ



काठमाडौं ४ असार । सरकारको सुरक्षा रणनीति र राजापाको आन्दोलन प्रदेश नम्बर पाँचमा नै केन्द्रित भएको छ । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरण निर्वाचन प्रभावित पार्ने गरी आन्दोलन कार्यक्रम घोषणा गरेका राजपाका शीर्ष नेता प्रदेश ५ मा आन्दोलन चर्काउने रणनीतिसहित शनिबार नवलपरासीतर्फ लागेका छन् । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा भरतपुर हुँदै नवलपरासी पुग्नुभएको हो । राजपाको शुक्रबार बसेको बैठकले दोस्रो चरण निर्वाचन सक्रिय बहिष्कार गर्ने निर्णय गरेको थियो । राती देखि नै प्रहरीले पक्राउ गरिरहरहेको छ ।

राजपाले ५ नम्बर प्रदेशअन्तर्गत आफ्नो पकड रहेका नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा आन्दोलन चर्काउने रणनीति बनाएका छन् । प्रदेश २ र ५ मा चुनाव स्थगन गर्न माग गर्दै आए पनि सरकारले प्रदेश २ मा मात्रै चुनाव स्थगन गरेपछि बाध्य भएर प्रदेश ५ मा आन्दोलन चर्काएको राजपा नेताले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूलाई बैठकमा प्रदेश नं. २ र ५ को निर्वाचन सार्ने कुरामा आश्वस्त गराए पनि २ को मात्रै चुनाव सारेको अध्यक्षमण्डलका नेता अनिलकुमार झाले बताउनुभयो । प्रधानमन्त्रीको बोलीमा आएको परिवर्तन र उनको एमालेप्रतिको लचकताका कारणसमेत प्रदेश नं. ५ को निर्वाचन नसरेको दाबी झाले गर्नुभयो ।

राजपाले दोस्रो चरण निर्वाचनअगावै संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारणलगायत माग पूरा नभएसम्म निर्वाचन बहिष्कार गर्ने नीतिअनुसार पहिलो चरण निर्वाचनसमेत बहिष्कार गरेको थियो । राजपालाई मनाउने उद्देश्यसाथ बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ को निर्वाचन असोज २ गतेसम्मका लागि स्थगन गरिसकेको छ ।

संघीय गठबन्धनको बैठकसमेत राख्दै राजपाले उम्मेदवार मनोनयनको दिन आइतबार मधेस थरुहट क्षेत्रमा आमहडताल घोषणा गरेको छ । राजपाका नेता राजेन्द्र महतोले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले देशलाई विखण्डन गर्न खोजेकाले आफूहरूले देश जोगाउन चुनाव बहिष्कार र शान्तिपूर्ण आन्दोलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेसका मुद्दा सम्बोधन नभएसम्म कुनै पनि चुनावमा राजपाले भाग लिँदैन, यो हाम्रो बटमलाइन हो ।’



प्रतिक्रिया दिनुहोस्