Logo

६ महिनासम्म नेपालका सबै भू-भागसँग सम्पर्क विच्छेद हुने गाउँ



काठमाडौं ८ असार ।
दोलखाको उत्तरी सीमाको अन्तिम वस्ती लामावगरस्थित लप्चे गाउँ असार लाग्नेवित्तिकै नाकाबन्दीमा परेको छ । यो वस्तीवासी अबको छ महिनासम्म नेपालको अर्को कुनै गाउँ वा सहरबाट सम्पर्कबिहीन हुन्छ ।

हरेकबर्षको असारदेखि मंसिरसम्म उनीहरु तिब्बती बजारहरुमा मात्र निर्भर हुनुपर्छ । उनीहरुका लागि यस्तो नाकाबन्दीको संकट २०७२ सालको भूकम्पपछि आएको हो । झोलुङ्गे पुल भूकम्पका कारण भत्किएपछि १८ घरधुरीका ६० जना र गुम्बामा बसेका गरी करिब एकसय जना मानिस छ महिनासम्म नाकाबन्दीमा पर्ने लामावगरका राजनीतिक कार्यकर्ता छ्योतर शेर्पा बताउँछन् ।

स्थानीयहरुको पहलमा तामाकोसी नदीमा हालिएको अस्थायी फलामको साँघु बर्षायाममा बढेको खोलाले बगाउने हुँदा झिकिने गरिन्छ । त्यसपछि मानिसको आवतजावत रोकिन्छ । यसबर्ष पनि साँघु झिकर्यो । मिलारेपासँग जोडिएको विश्व प्रशिद्ध गुम्बा र मावनवस्ती रहेको लप्चे जोड्ने अर्को सजिलो माध्यम छैन् । लप्ची मिलारेपा समितिका उपाध्यक्ष छिरिङल्होमा लामाले खोला बढ्नेवित्तिकै साँघु बगाउने भएकाले छ महिनासम्म झिकेर राख्ने गरेको बताए ।

‘अबको छ महिनासम्म हेलिकप्टरबाहेक नेपालतर्फ आउने कुनै उपाय छैन,’ उनले भने, ‘धन हुनेले त्यसो पनि गर्छन्, गरिबहरु त आपत नै परिहाले तिब्बततर्फको फलेक बजारमा निर्भर हुन्छन् ।’ करिब दुईदिन लामो अर्को विकल्प छ तर त्यहाँ पनि प्रशस्त ठाडो खोलाहरु भएकाले बर्षायाममा मानिसहरु यताउता गर्न सक्दैनन् ।

भर्खरै उक्त क्षेत्र भ्रमण गरेर फर्किएका नेपाल पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष जीवन लामाले भने, ‘जानेबेलामा हामी नफर्केसम्म पुल नझिक्नु भनेर अनुरोध गर्‍यौ, तर फर्कदा त धमाधम पुल झिक्न थालिएको रहेछ ।’ गतबर्ष माथिल्लो तामाकोसी आयोजनाको सहयोगमा राखिएको पुल बगाएपछि यसबर्ष बेलैमा झिकेर अर्कोबर्षका लागि सुरक्षित गरिएको बताइएको छ ।

पुल झिकिएका कारण गतबर्ष एक हुल मजदूर असारदेखि पुससम्म लप्चीमै बस्नु परेको थियो । लप्ची मिलारेपा समितिका उपाध्यक्ष छिरिङल्होमा लामाको भनाईअनुसार गतबर्ष लप्चे हाइड्रो पावरमा काम गर्ने तिनीहरु काम सकेर फर्कन खोज्दा पुल बर्षायाममा बढेको खोलाले बगाइसकेको रहेछ । त्यसपछि उनीहरु लप्चीमै फर्किएका थिए । स्थानीयहरुको काम गरिदिएर अन्न मागेर खादै उनीहरुले दसै र तिहार मनाएका थिए ।

साँघु निकाल्नुअघिनै स्थानीयले छ महिनालाई पुग्ने खानेकुरा जोहो गर्नेपर्छ । जोहो गर्न नसके तिब्बतमा किनमेल गर्न जानुपर्ने बाध्यता छ । ‘तर बिरामी परेर च्याप्दै गएमा मर्नुको पर्खाइमा बस्नु सिवाय उपया छैन,’ स्थानीय समाजसेवी युवा कर्मा शेर्पाले बताए । धेरैलाई समस्या परेमा हेलिकप्टरबाट पनि सेवा दिने गरेको तर टेलिफोनको निरन्तर सेवा नभएकाले कतिपय बेला त्यो पनि असम्भव हुने गरेको कर्माले दु:खेसो गरे । कर्माले भने, ‘विकटताका कारण कतिपयको अकालमै ज्यान गएपछि लप्चीबासी जो नेपाली सीमाको नेपाली पहरेदार भएर बसेका छन उनीहरुको समस्या जिल्ला प्रशासनलाई पटकपटक सुनाउदै आएका छौ ।’

माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना र गौरीशंकर संरक्षण क्षेत्र आयोजनालगायतलाई पुल निर्माणको लागि पटकपटक आग्रह गर्दा पनि वेवास्ता गर्दै आएको लप्ची मिलारेपा समितिका उपाध्यक्ष छिरिङल्होमा गुनासो गर्छन । उनले भने, ‘आवागमणकै समस्याले सुत्केरीलगायत अन्य धेरैले अकालमा ज्यान गुमाएको टुलुटुलु हेरे बस्नु परेको छ ।’

यस्तो दुर्दशालाई सरोकारवाला निकाय माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र गौरीशंकर संरक्षण क्षेत्रले बर्षेनी सामान्य काम गरेको तर स्थायी समस्या समाधान गर्ने सोच भने अघि नसारेको छ्ेयोतर बताउँछन् । गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने उक्त क्षेत्रमा स्थायी बाटो बनाउने बजेट नभएकाले बर्षेनी एक लाख रुपैया बाटो सुधारका लागि मात्र दिने गरेको संरक्षण प्रमुख सत्यनारायण शाहाले बताए । संरक्षण क्षेत्रसँग ठूलो बजेट नहुने हुँदा समस्या छ भन्ने थाहा भएर पनि चुपचाप बस्नु परेको उनले सुनाए ।

वैकल्पिक बाटो निर्माणको लागि अपर तामाकोशी हाईड्रोपावर कम्पनीले ८० लाख बजेट छुट्याएको छ । आयोजनाको ड्याम क्षेत्रभित्र पर्ने भएकाले जम्मा हुने पानीको सतह हेरेर बाटो र पुल सुधार गर्ने भन्दै उक्त बजेट हालसम्म खर्च भएको छैन् ।

चौरी पालन व्यवसायमा निर्भर लप्चीका वासिन्दा पढाइ सुविधा, स्वास्थ्य सुविधाबाट बञ्चित छन् । सीमाक्षेत्र भएता पनि गाउँमा प्रहरी चौकी छैन् । वस्ती सुरक्षा तथा तिब्बतसँगको चरिचरण र विनिमयमा पनि उनीहरु अपहेलित भैरहेको गुनासो जिल्ला प्रशासनमै दर्ता गराएका छन् । कतिपय समस्याहरु लप्ची मिलारेपा समिति र हुनेखानेले व्यक्तिगतरुपमै समाधान गर्दै आएको स्थानीयहरु बताउँछन् । गाउँलेका भनाईमा शिक्षक नवस्नाले गाउँमा बस्ने बालबालिकाले पढ्न नपाएपछि चौरी चराएर दिन काट्छन् । कतिपयले अहिलेसम्म सिटामोलसमेतको औषधि सुविधा पाएका छैनन् । जडिबुटीमा निर्भरता छ । कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्