Logo

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, प्रहरीको भ्यान नै पुरियो



चितवन ९ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जादा प्रहरीको भ्यान नै पुरिएको छ । सडकखण्डको इच्छाकामना गाउँपालिका वडा नं.६, डेढकिलोमा गएराति खसेको पहिरोले प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ ।सोही स्थानमा ना ५ ख ७८२७ नम्बरको ट्रकलाई पनि पहिरोले पुरेको छ । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध छ ।

पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी असईको नेतृत्वमा पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो । ट्रक समेत पुरेको ठूलो पहिरो झरेको रिपोर्टिङ गरेर प्रहरीहरु फर्किँदै थिए ।

सोही क्रममा माथिबाट झरेको पहिरोले ना १ झ ९३ नम्बरको भ्यानलाई पुरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए । प्रहरीको भ्यानमा रहेका प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको छ। चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना१झ ९३ नम्बरको भ्यान र ना५ख ७८२७ नम्बरको ट्रकलाई पहिरोले पुरेको र भ्यान पुरिएकै अवस्थामा सडकमा रहेको मुग्लीङ प्रहरीले जनाएको छ । ट्रकका सहयोगी चालकलाई उद्धार गरी उपचारका लागि तनहुँ पठाइएको छ । पहिरोमुनि नै प्रहरीको भ्यान रहेको र पहिरोले भ्यानसहित प्रहरी पुरेको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्