Logo

२० वर्षपछि पनि उनै अनुहार



काठमाडौं ११ असार ।
स्थानीय चुनावको रौनक पूर्वी पहाडको सबभन्दा पुरानो नगरपालिका इलाममा पनि छाएको छ, तर नगरका मतदातालाई कुनै नयाँपनको महसुस भने भएको छैन । किनकी मैदानमा २० वर्षपछि पनि उनै अनुहार छन्, त्यो पनि प्रमुख प्रतिस्पर्धीका रूपमा । २०५४ मा भएको स्थानीय चुनावमा यो नगरमा मेयरमा एमालेबाट महेश बस्नेत र कांग्रेसबाट हिमालय कर्माचार्य उम्मेदवार थिए । २० वर्षपछि समेत दुवै जना हस्ती उम्मेदवार छन् । मेयरमा ६ जना उम्मेदवार भए पनि प्रमुख टक्कर भने उनीहरू दुई जनाबीच नै छ ।

बस्नेत २० वर्षअघि झिनो मतान्तरमा कर्माचार्यलाई हराएर मेयर चुनिएका थिए । त्यतिबेला बस्नेतले २ हजार १ सय ७४ तथा कर्माचार्यले २ हजार १ सय १ मत ल्याएका थिए । जितको अन्तर थियो जम्मा ७३ मत । यस पटक १२ वडा भएको नगरमा ३० हजार ६ सय १८ मतदाता छन् । कर्माचार्य २०४३ सालमा भएको नगर पञ्चायतको चुनावमा प्रधानपञ्चमा विजयी भएका थिए, त्यो पनि कांग्रेसको उम्मेदवारका रूपमा । जनपक्षीय उम्मेदवारका रूपमा प्रधानपञ्चमा विजयी कर्माचार्य ०४६ सालमा बहुदल पुनर्बहाली हुँदासम्म तीन वर्ष पदमा बहाल रहे । बस्नेत भने ०५४ देखि ०५९ जेठसम्म ५ वर्ष मेयर थिए ।

अर्को संयोग के पनि छ भने यी दुवै जिल्लामा आफ्नो पार्टीका प्रमुख हुन् । कर्माचार्य कांग्रेसका जिल्ला सभापति छन् भने बस्नेत एमालेका जिल्ला सचिव । कर्माचार्य पछिल्लो संविधानसभाको निर्वाचनमा एमाले नेता झलनाथ खनालसँग हारेका नेता हुन् । इलाम एमालेका दुई हस्ती पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख सुवास नेम्वाङ तथा कांग्रेसका पूर्वमहामन्त्री केबी गुरुङको गृहजिल्ला हो । जिल्लाका ४ नगर र ६ गाउँपालिकासहित सबै स्थानीय तहमा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा छ । माओवादी केन्द्रले यहाँका स्थानीय तहमा एमाले र कांग्रेसलाई टक्कर दिन कडा मिहिनेत गरिरहेको छ । दुवै संविधानसभा चुनावमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले यस पटकको निर्वाचनमा आफ्नो पक्षमा जबर्जस्त माहोल बनाउन भरमग्दुर प्रयास गरिरहेको छ ।

एमालेका दुवै नेता खनाल र नेम्वाङले जिल्लाका सबै स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा संलग्न हुनुका साथै चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । कांग्रेसका पूर्वमहामन्त्री गुरुङ भने उमेर र शारीरिक अस्वस्थताका कारणले जिल्लामा आएर आफ्नो पार्टीका उम्मेदवारका पक्षमा सक्रिय हुन सकिरहेका छैनन् । कांग्रेस र माओवादी केन्द्रले समेत केन्द्रबाट ठूला नेता ल्याएर आ–आफ्नो पार्टीको पक्षमा चुनावी माहोल बनाउने कसरत गरिरहेका छन् । ०४८ देखि ०५४ सम्म भएका संसदीय, संविधानसभा सदस्य र स्थानीय चुनावमा बराबरीजस्तो जित हात पारेका छन् । कडा टक्करमा कहिले एमालेले बढी सिट त, कहिले कांग्रेसले । पछिल्लो संविधानसभा चुनावमा २ सिट एमाले र एक सिट कांग्रेसले जितेको थियो ।

पछिल्लो संविधानसभा चुनावमा इलाम नगरमा कांग्रेसले बढी मत ल्याएको थियो । पछिल्लो मतका आधारमा कर्माचार्य नगरमा प्रभावशाली मानिन्छन् । तर, उम्मेदवारी चयनमा कांग्रेसभित्र असन्तुष्टि देखिएकाले कर्माचार्यले पार्टीमा सबैलाई समेट्न अहोरात्र खटिरहनुपरेको छ । फेरि कर्माचार्य आफ्नो राजनीतिक भविष्य नै दाउमा राखेर मेयरको चुनावमा होमिएका हुन् । कर्माचार्यले झन्डै दुई वर्षअघि भएको पार्टी अधिवेशनमा कांग्रेसका भेषराज आचार्यसहित ५ हस्तीलाई जिल्ला पार्टी सभापतिमा हराएका थिए । पार्टीभित्रको त्यो हारजितको तुष र तिक्तता अझै छ । पार्टी सभापतिको हैसियतले कर्माचार्यले कसैसित सल्लाह र छलफलसमेत नगरी मेयरमा आफ्नो उम्मेदवारी आफैंले घोषणा गरेका कारण पनि कांग्रेसभित्र असन्तुष्टि बढेको हो ।

‘पार्टी अधिवेशनको तुष र आफ्नो उम्मेदवारी आफैं घोषणा गरेकाले कर्माचार्यले आफ्नो राजनीतिक भविष्यमा दाउमा राखेका छन्, चुनावमा हारे भने कर्माचार्यको राजनीतिक भविष्य समाप्त हुन सक्छ,’ यहा“का पुराना सञ्चारकर्मी एवं राजनीतिक विश्लेषक धर्म गौतमले कान्तिपुरसित भने । कांग्रेसभित्र उपमेयरमा कमजोर पात्रलाई उठाएकामा समेत असन्तुष्टि छ । कांग्रेसमा यहाँ उपमेयरका लागि विष्णु दाहाल निकै लोकप्रिय मानिएकी थिइन् । तर पार्टीभित्रको दुई गुटको भागबन्डामा कांग्रेसले उपमेयरमा दाहालको सट्टा चन्दा कार्कीलाई उम्मेदवार बनाएको छ । प्राध्यापन छाडेर राजनीतिमा आएकी कार्की पार्टीभित्र र जनतामाझ त्यति नभिजेको बताइन्छ ।

कांग्रेसभित्रको असन्तुष्टि र उपमेयरमा भएको कमजोर उम्मेदवारीको फाइदा आफूलाई हुने विश्लेषण एमालेको छ । एमालेले बस्नेतलाई उम्मेदवार बनाएकामा पार्टीभित्र असन्तुष्टि छ । तर, कांग्रेसको जस्तो सतहमा देखिएको छैन ।

एमालेका पूर्वअध्यक्ष एवं वरिष्ठ नेता खनाल भने आफ्नो जिल्लाको प्रमुख नगरको मेयरमा उम्मेदवारी चयनमा आफूलाई भूमिकाहीन बनाइएकोमा भित्रभित्र असन्तुष्ट छन् । बस्नेत ओली पक्षका हुन् । बस्नेतको प्रचार अभियानमा खनाल पक्षका स्थानीय नेता तथा कार्यकर्ता कमै सक्रिय छन् । तर सतहमा भने एमालेमा बस्नेतको उम्मेदवारीलाई लिएर कसैले विरोध गरेको छैन ।

माओवादी केन्द्रका युवा उम्मेदवार छविलाल आचार्यले नगरको मेयरमा एमाले र कांग्रेसलाई कडा टक्कर दिने प्रयास गरिरहेका छन् । ०४३ सालका प्रधानपञ्च कर्माचार्य र ०५४ का मेयर बस्नेतले नगरको विकास निर्माणमा खासै काम गर्न नसकेका कारण नगरबासी यस पटक परिवर्तन खोजेर आफ्नो पार्टीतिर आकर्षित भइरहेको दाबी माओवादी केन्द्रको छ । एमालेका उम्मेदवार बस्नेतले भने ०५४ मा नगरमा आफूले विकासको जग बसाएको र आफ्नो पार्टीको सांगठनिक आधार बलियो भएकाले आफूले जित्ने दाबी गर्छन् । ‘कांग्रेसभित्रको असन्तुष्टिले होइन एमालेले आफ्नो पार्टीको बलमा नै यहाँ मेयरसहित बहुमत सिट जित्छ,’ उनले भने, ‘नगरमा जति विकास निर्माण भएको छ, त्यो ०५४ मा मेयर हुँदा हाम्रो पार्टीले बसाएको जगमा भएको हो । त्यही कारणले यहाँ एमाले बलियो छ ।’

कांग्रेस उम्मेदवार कर्माचार्यले आफ्नो पार्टीमा कुनै असन्तुष्टि नभएको दाबी गर्दै मेयरसहित बहुमत पदमा आफ्नो पार्टीले जित्ने दाबी गरे । ‘कांग्रेसमा सुरुमा असन्तुष्टि थियो । अहिले साम्य भइसकेको छ । पार्टी एकढिक्का भएर चुनाव प्रचार अभियानमा लागेको छ,’ कर्माचार्यले भने, ‘कांग्रेसको सांगठनिक आधारसमेत यहाँ बलियो छ, मैले प्रधानपञ्च हुँदा थोरै स्रोतसाधन भए पनि धेरै काम गरेकाले जनताले मलाई जिताउँछन् ।’

माओवादी केन्द्रका आचार्यले संघीयता र स्थानीय सरकार आफ्नो पार्टीको एजेन्डा भएको र कांग्रेस र एमालेले यसअघि पनि पद सम्हालिसकेका पुरानै असफल अनुहारलाई अघि सारेकाले आफूले जित्ने दाबी गरे । कांग्रेस र एमालेभित्रका असन्तुष्ट युवा जमात आफूतिर आकर्षित भइरहेको दाबी गर्दै त्यही कारण आफू विजयी हुने दाबी आचार्यको छ । इलाम नगरमा मात्र नभई सिंगै जिल्लामा दलहरूले चिया, अलैंची, अम्रिसो र दुग्धजन्य उत्पादनलाई व्यवसायीकरण गरी स्थायी बजार व्यवस्थापन गरेर जिल्लाबासीलाई रोजगारी बढाउने, खानेपानी, बाटोघाटोको समस्या समाधान गर्ने, शैक्षिक गुणस्तर बढाउने, अस्पताललाई आधुनिक र सुविधासम्पन्न बनाउने मुख्य एजेन्डा बनाइरहेका छन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीले इलामका बहुमत स्थानमा विजयी हुने दाबी गरे । कांग्रेसका जिल्ला सभापति कर्माचार्यले इलाम र देउमाई नगरपालिका, माङसेवुङ, चुलाचुली, रोङ, सन्दकपुर गाउँपालिकामा सजिलै जित्ने र बाँकी नगर र गाउँपालिकामा आफ्नो पार्टी तीव्र प्रतिस्पर्धासहित जित्ने अवस्थामा रहेको दाबी गरे । एमालेका जिल्ला सचिवसमेत रहेका बस्नेतले जिल्लाका सबै स्थानीय तहमा कांग्रेससित प्रतिस्पर्धा रहेको र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको दाबी गरे । ‘कुन–कुन नगरपालिका र गाउँपालिका नभनौं, हामी धेरैजसो नगर र गाउँपालिका जित्छौं,’ बस्नेतले भने । माओवादी केन्द्रका आचार्यले भने जिल्लाका सबै स्थानीय तहमा एमाले र कांग्रेससित प्रतिस्पर्धा रहेको उल्लेख गर्दै बहुमत स्थानीय तह आफ्नो पार्टीले जित्ने दाबी गरे । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot