Logo

नारायणगढ मुग्लिन सडकखण्डमा फेरि खस्यो, सयौ अलपत्र



काठमाडौं ११ असार ।  चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

निरन्तर पहिरो खसेकाले राति पन्छाउन नसकेपछि आज बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउन सुरु गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई सार्वजनिक अपिल गरिएको ट्राफिक प्रहरीले जनाएको छ । रातभर पानी परेर निरन्तर पहिरो खसेपछि सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । पहिरोका कारण सडकमा सवारीको लाइन लामो छ ।

गएको बिहीबार राती कालीखोला नजिकै पहिरो खसेर दुई प्रहरीको मृत्यु भएको थियो भने भ्यान सहित दुईजना प्रहरी बेपत्ता भएका छन् । बिहीबार रातिको पहिरोले अवरुद्ध सडक १७ घन्टापछि खुलेको थियो । फेरि पहिरोका कारण गएरातिदेखि अवरुद्ध भएको छ ।



प्रतिक्रिया दिनुहोस्