Logo

स्थानिय तह चुनाव विशेष : मतदाता लाइनमा, ६३ हजार नेता बन्ने दौडमा



काठमाडौं १४ असार । स्थानिय तह दोस्रो चरणमा निर्वाचन अन्र्तगत आज मतदान हुँदैछ । अहिले बिहान ७ बजे मतदान सुरु भएको छ भने बुलुका ५ बजेसम्म मतदान जारी रहनेछ । लाइन बसिसकेकाले अबेरसम्म पनि मतदान गर्न पाउने छन् । कोही पुग्ने क्रममा छन् । तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ ।

बुधबार बिहान ७ बजेदेखि सुरु हुने मतदानको लागि मतदाता घरबाट हिँड्न थालेका छन् । प्रदेश नं। १, ५ र ७ का मतदातामध्ये कतिपयको मतदान केन्द्र घर नजिकै छ भने धेरैलाई मतदान केन्द्र पुग्न घण्टौं हिँड्नुपर्छ । त्यसैले धेरैजसो मतदाता भोट दिनको लागि बिहानै घरबाट हिँडेका हुन् । दिउँसो पानी पर्ने भएकाले समयमै मतदान गर्न मौसमविदले पनि सुझाव दिएका छन् । कतिपय ठाउँमा चाहिँ बिहानैदेखि पानी परिरहेको छ । दिउँसो खेती किसानीको काम गर्नुपर्ने भएकाले पनि धेरै मतदातालाई बिहानै मतदान केन्द्रमा पुगेर भोट दिनुपर्ने भएको छ । २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा सहभागी भएर जनप्रतिनिधि चुन्ने अवसर सदुपयोग गर्न सबै मतदाता उत्सुक छन् ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउनेछन् । आयोगले भोट खसाल्न मतदाता परिचय पत्र बोकेर सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने तर कुनै कारणले परिचय पत्र छुटे वा नलगे आफ्नो फोटो भएका अरु सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । आयोगले सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क हुन आग्रह गरेको छ । सरकारले चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशमा बुधबार सार्वजनिक बिदा दिएको छ । १५ हजार ३८ जना प्रतिनिधि चयनका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीन प्रदेशका ३५ जिल्लामा हुने मतदानमा ६४ लाख ३२ हजार ७ सात ६५ मतदाता छन् । चुनावमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् । १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका गरी जम्मा ३ सय ३४ स्थानीय तहमा चुनाव हुँदै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot